काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २६ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । माघ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सनस्टार, रुपन्देही, भैरहवामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थापक शेयरधनीको तर्फबाट चार र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको यस कम्पनीले त्यस पछिका वर्ष लाभांश वितरण गरेको छैन । यस वर्ष पनि कम्पनीले लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।