भादगाउँ। मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ करोड २८ लाख १९ हजार छ सय ९० सङ्कलन गरेको हो ।
यो पालिकाको कूल वार्षिक राजस्व सङ्कलन लक्ष्यको ३९ दशमलव ३६ प्रतिशत हो । यहाँ चालु आवमा रु ३६ करोड २८ लाख सात हजार आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले गत आर्थिक वर्षको तुलनामा यस वर्ष नक्सा पास कम भएकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जानकारी दिए । गत वर्ष यस नगरपालिकाले घर नक्साको अभिलेखीकरण खुलाएको थियो ।
यस वर्ष घर नक्सा पासमा राजस्व सङ्कलनमा कमी आए पनि व्यवसाय, घरबहाल र विज्ञापन कर शीर्षकमा राजस्व वृद्धि भएको उपप्रमुख श्रेष्ठले बताए । उनका अनुसार व्यवसाय कर, घरबहाल कर र विज्ञापन कर शीर्षकमा गत आवको तुलनामा यस वर्ष रु दुई करोड ५२ लाख ८९ हजार आठ सय ८८ भन्दाबढी राजस्व सङ्कलन भएको छ ।
नगरपालिकाले चालु आवको पहिलो छ महिनामा सबैभन्दा धेरै असोजमा रु तीन करोड ६० लाख ५६ हजार ३७, साउनमा रु तीन करोड २७ लाख ८५ हजार चार सय ५२ र भदौमा रु दुई करोड ४३ लाख ५३ हजार चार सय ७३ आन्तरिक आम्दानी गरेको थियो ।
यसैगरी कात्तिकमा रु एक करोड ९८ लाख १२ हजार तीन सय ६६, मङ्सिरमा रु दुई करोड आठ लाख १६ हजार एक सय ७४ र पुसमा सबैभन्दा कम रु ९४ लाख १७ हजार नौ सय ८१ राजस्व सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ । -रासस