शीर्षकहरू

ऋण लिईलिई घर निर्माण, तिर्न नसकेपछि न शहरको न गाउँको !

ऋण लिईलिई घर निर्माण, तिर्न नसकेपछि न शहरको न गाउँको !

सञ्चारमाध्यमहरुमा दैनिक कोही न कोही प्रहरी हिरासतमा पुगेको समाचार आउँछन् । कसैले भने आत्महत्या गरिरहेका छन् भने कोही देशै छोडेर भागेको छन् वा सम्पर्क विहीन भएका छन् । यो सबैको एउटा कारण छ, ऋण तिर्न नसक्नु । बुढोपाकाले भन्थे, ‘ऋण भनेको घीन हो ।’ रुख मुनिको बाली फल्दैँन, ऋण लिने मान्छे कहिल्यै उभो लाग्दैन भनिन्छ । 

अहिले यी सबै ऊखान आम नागरिकको जीवनसँग मेल खान पुगेको छ । सरकारले करको निम्ति बैंक, वित्तीय संस्था, सहकारी खोल्न लाइसेन्स दियो । बैंक, वित्तीय संस्थाहरुले सेवा दिने नाममा जनतालाई ऋण बोकाइ दिए । मिटरब्याजमा ऋण प्रवाह गर्न थाले । अनि त्यहीँ ऋण तिर्न नसकेर जनता मर्नु कि बाँच्नु अवस्थामा पुगेका हुन् । 

पहिला पहिला डाँडाकाँडा, उब्जनी नहुने जमीनमा घर बनाइन्थ्यो । किनकि त्यस्तो जग्गामा घर बनाएपछि अन्य खेतीयोग्य जमिनमा खेतीपाती गर्न पाइन्थ्यो । त्यतिबेला मानिसहरुले ढुंगा र माटोबाट घर बनाउँथे । घर बनाउँदा कसैसँग ऋण लिदैँन्थे अथवा घरमा खर्च नै गरिँदैन्थ्यो । आफ्नै खेतबारीमा भएको काठलगायत सामानहरुबाट घर निर्माण गरिन्थ्यो । अहिलेजस्तो घर बनाउन कामदार खटाइँदैन्थ्यो । 

एकको घर बनाउँदा अर्कोले सहयोग गथ्र्यो भने अर्कोको घर बनाउँदा उसले पनि सहायता गथ्र्यो । घरको छानो पराल, झिंगटी, खरको हुन्थ्यो । कोही कोहीले मात्रै जस्ताको छानो हाल्थे । त्यतिबेला मानिसहरुको सोचाई थियो । घर भनेको बस्ने बास मात्र हो । यसमा धेरै खर्च गर्नुहुन्न । बरु जग्गा भयो भने त कमाएर खान सकिन्छ । त्यसैले, घर बनाउँदा न ऋण लिइन्थ्यो न धेरै जग्गा मासिन्थ्यो । 

घरमा लगानी गर्नुभन्दा कृषि, पशुपालना वा जग्गामा मानिसहरु लगानी गर्थे । एउटै व्यक्तिको जमिन सयौं रोपनीसम्म हुन्थ्यो । खेतीपाती गरेरै जीविको पार्जन गरिन्थ्यो । रोचक कुरा त के छ भने अहिलेजस्तो ठूला घर नभएपनि त्यतिबेलाका मानिसहरु खुशी थिए । किनकि उनीहरु ऋणी थिएनन् । खेतबारी आफ्नै नाममा थियो । 

कुनै बैंक, वित्तिय संस्थाको ऋणी थिएनन् । यसैले, मानिसहरु दिनभर आफ्नो खेतबारीमा काम गर्थे अनि राति आनन्दले सुत्थे । बिहान ३–४ बजे उठिसक्थे । उठेर घर लितपोत गर्नेदेखि धाराबाट पानी ल्याउने, पशुलाई आहार दिने, दुध दुहुनेलगायत कामहरु मानिसहरु उज्यालो हुँदा सकिसक्थे । अधिकांशले बिहानै घरको काम सक्थे अनि खेतबारीमा काम गर्न जान्थे । दिनभर खेतबारीमै व्यस्त हुन्थे । 

त्यतिबेला मानिसहरु चौबिसै घण्टा व्यस्त हुन्थे । जसका कारण उनीहरु स्वस्थ्य रहनुका साथै गलत बाटो वा सोचाईमा जाँदैनन् थिए । २०४२ सालदेखि भूमाफिया, दलालीहरुले नयाँ पोलिसी ल्याए । विकास गर्ने भन्दै खेतीयोग्य जमिन, डाँडाकाँडा सबै प्लाटिङ गर्न थाले । अनि काठमाडौं उपत्यकासहित देशभर पुराना घरहरु विस्थापित भए । खेतीयोग्य जमिन समेत खण्डीकरण गरेर सकियो । 

पहिलेपहिले घर र मतान हुन्थ्यो । सबैको गाईबस्तु हुन्थ्यो । मतानमा पशु राखिन्थ्यो । तर, पछिल्लो समय पशुपालना गर्नेहरु भेटिनै मुस्किल छ । अहिले सिमेण्टी र सिसाबाट घर बनाइएको छ, त्यो पनि खेतीयोग्य जमिनमा । घर बनाउँदा बैंक, वित्तीय संस्थाबाट लाखदेखि करोडौं ऋण लिएको हुन्छ । अनि त्यँही ऋण कसरी तिर्ने ? भनेर मानिसहरु रातभर निदाउन सक्दैँनन् । 

घर त ठूलो महलजस्तो छ । तर, जति ठूलो र राम्रो घर भएपनि मानिस खुशी, सुखी र आनन्द नभएपछि के गर्नु ? ०४२ सालअघि उपत्यकामा एउटैको १५ रोपनीदेखि सयौं रोपनीसम्म जमिन थियो । जमिनमा फलेको अन्नले उनीहरलाई वर्षभरि खान पुग्थ्यो । र, अहिलेजस्तो ग्यासमा खाना पकाइँदैन्थ्यो । दाउरा, मकैको खोया तथा ढोड, काठको धुलो, गोबरलगायतबाट खाना पकाइन्थ्यो । 

त्यतिबेला मानिसहरु खुशी थिए । न कसैको ऋण थियो न एक टुक्रा जग्गा बेच्नुपरेको थियो । न कोही भोको नै बस्नुपथ्र्यो । दही, दुध आफ्नै घरमा उत्पादन गरिन्थ्यो । केही पनि किन्नै पर्दैन्थ्यो । तर, जब भूमाफिया, दलालीहरुले जग्गा प्लाटिङ गर्न थाले । तब उनीहरु फसे । एक हजार आनामा बिक्री नहुने जमिन दलालीहरुले पाँच हजार दिन्छु भने । यसरी आनाकै हजारौं रुपैयाँ फाइदा हुने देखेपछि मानिसहरुले धमाधम जग्गा बेच्न थाले ।
 
भूमाफिया, दलालीहरु एकैचोटी रोपनीका रोपनी जग्गा किने । अनि यँही जग्गामा डोजर चलाई टुक्राटक्रा बनाए । २०५२ सालमा माओवादीले जनयुद्ध शुरु गर्यो । गाउँमा माओवादीले आतंक मच्चाएपछि मानिसहरु शहर आए । शहर आएपछि बस्ने बास चाहियो । अनि मानिसहरुले गाउँको जमिन बेचेर शहरमा जग्गा किन्न थाले । शहरमा नागरिकको बढ्दो भीडभाडको फाइदा भूमाफिया, दलालीहरुले उठाउनु उठाए । 

निःमुखा, गरिब जनताबाट आनाको पाँच हजारको किनेको जमिन उनीहरुले लाखदेखि करोडसम्ममा बेचबिखन गर्न थाले । फेरि शहर बस्नैपर्ने बाध्यता भएपछि माओवादीबाट बचेर आएकाहरुले पनि यहाँ जग्गा किनेर बास बसाए । पहिला १५ देखि ८० रोपनी जग्गा भएकाहरुसँग अहिले चार आना जग्गा छ । त्यो पनि बैंक, वित्तिय संस्थाको नाममा । ७४ जिल्लाका मानिसहरुले तीन जिल्ला–भक्तपुर, ललितपुर र काठमाडौं) मा जग्गा किनेर घर बनाएका छन् । यहाँ घर बनाएपछि गाउँको जग्गा बाँझै छोडे । कतिपयले बेचे । गाउँमा भएका घर र मतानमा तल्चा लगाए र पशु पनि बेचे । 

यहाँ घर बनाएपछि काम गर्न पनि मान्छे राख्न थाले । गाउँमा बिहान ३–४ बजे उठ्नेहरु शहरमा ८ बजेसम्म सुत्न थाले । गाउँमा रोपनीका रोपनी जग्गा हुँदा घमण्ड नभएकाहरु यहाँ तीन–चार आना जमिनमा घर बनाएपछि मै हुँ भन्न थाले । गाउँमा जमिन बाँझै बस्यो । छिमेकी मुलुकमा विषादी हालेर उब्जनी गरिएको अन्न खान थालियो । 

दिनभर छिमेकीसँग कुराकानी गरेर वा मोबाइल चलाएर दिन कटायो । घर भाडामा लगाएकै पैसाले जीविकोपार्जन गर्न थाले । तर, कोरोना महामारीपछि आएको मन्दीले अहिले उनीहरु घर बनाउँदा बैंक, वित्तीय संस्थाबाट लिएको ऋणका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । दलाली, भूमाफियाहरुले जनतालाई घर बनाउन उक्साए । 

शहरमा घर बनाएमा ठूलै उपलिब्ध हुने ठानेर दलालीको लहैलहैमा लागेर बैंक, वित्तीय संस्थाबाट महँगो ब्याजमा कर्जा लिएर घर बनाइयो । जनताले दलालीहरुको खेल बुझेनन् । वा ढिलो बुझे । अहिले दलालीहरुबाट आफुहरु फसेको अधिकांशले बुझेका छन् । तर, फसेपछि वा डुबेपछि बुझेर के गर्नु ? शहरमा साहु बनेकाहरु बैंक, वित्तीय संस्थाले घर लिलाम गरेपछि सुकुम्बासी अवस्थामा पुगेका छन् । 

हिजो गाउँ छोडीछोडी शहर आएका उनीहरु अहिले धमाधम आत्महत्या गरिरहेका छन् । मानिसले आफ्नो पृष्ठभूमि कहिल्यै बिर्सिनुहुन्न । बुढोपाकाले भन्थे, सक्ने भारी कहिल्यै नबोक्नु । मानिसहरुले आफन्तसामु ठूलो बन्न बैंक, वित्तीय संस्थाबाट ऋण लिईलिई घरजग्गा किने । तर, अहिले त्यँही घरजग्गाका कारण आत्महत्या गर्नुपर्यो । आफन्तसामु मुख देखाउने अवस्था रहेन भने जेलको चिसो भुर्इँ समेत सहनुपर्ने अवस्था आएको छ ।