काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँट गरेको छ । निष्काशन गरेको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने ११ हजार ४६८ जना आवेदकलाई २ करोड २९ लाख ७५ हजार ४२३ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको थियो । यस आधारमा यो चरणमा ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर वितरण हुन नसकेको देखिन्छ । यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । यो हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम माघ १० गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर बाँडफाँटमा प्राप्त गरेका हुन । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।