काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा कुमारी बैंकको निष्क्रिय कर्जा ६ दशमलव ९६ प्रतिशत पुगेको छ । गत वर्ष यस अवधिसम्म ४ दशमलव ९७ प्रतिशत रहेको कुमारी बैंकको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९९ प्रतिशत विन्दुले बढेको देखिन्छ । गत वर्षको तुलनामा २० वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक वाहेक सबैको निष्क्रिय कर्जा बढेको देखिन्छ ।
एभरेष्ट बैंकको भने निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत मात्र छ । गत वर्ष यस अवधिसम्म एभरेष्ट बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७७ प्रतिशत थियो । वाणिज्य बैंकहरुमध्ये १ प्रतिशत तल निष्क्रिय कर्जा हुने बैंक एभरेष्ट बैंक मात्र रहेको हो । दोस्रो त्रैमाससम्मको अवस्थामा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा माथी छ ।
निष्क्रिय कर्जा बढेकै कारण बैंकहरुको इम्पेरमेन्ट चार्ज रकममा समेत बृद्धि देखिएको छ । जसले गर्दा दोस्रो त्रैमाससम्म ११ बैंकले मात्र गत वर्षको तुलनामा खुद नाफा बढाएका छन् । यस वर्ष बैंकहरुले इम्पेरमेन्ट चार्ज वापत् २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ व्यवस्था गरेको तथ्याङ्कले देखाउँछ । अहिले कर्जा असुलीमा समस्या हुँदा बैंकहरुको निष्क्रिय कर्जा बढेको अवस्थालाई बैंकहरुले औल्याएका छन् ।