काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नेपालमा विस्तारै लगानीमैत्री बन्दै गएको बताएका छन् । मंगलबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कर्जाको माग बढेको बताए । विशेषगरी ऊर्जा र पर्यटन क्षेत्रमा कर्जाको माग बढेको उनको भनाइ छ ।
कोरोनापछि लगानी नबढेको हो कि भन्ने देखिए पनि लगानी नै नभएको भन्न भने नमिल्ने धारणा उनले राखे । उनले भने, 'लगानी नै नआएको भन्न मिल्दैन। केही ग्रोथ भएको छ। यो ग्रोथ राम्रो भएर जान्छ भन्ने छ ।'
सरकारले अध्यादेशमार्फत् विभिन्न कानुनहरू संशोधन गरेर सहजीकरण गरेका कारण पनि यसले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको हो कि भन्ने आशा गर्न सकिने उनले बताए । 'लगानी बढाउनैका लागि बैंकहरू खुलेका हुन् । लगानीको वातावरण फस्टाउनुपर्छ, जुन पछिल्लो समय बन्दै गएको छ,' उनले भने ।
यद्यपि, कर्जा असुलीमा समस्या आउँदा भने बैंकहरू प्रभावित भएको धारणा उनले राखे । कर्जा असुलीमा स्थानीय सरकारले सहयोग नगरेको गुनासो उनले गरे । निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा बढेको बताउँदै उनले हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको उल्लेख गरे ।