काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्काशन गरेको छ । कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसस्थाहरुमा विक्री हुनेछ भने १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याईएको १ लाख २० हजार कित्ता मध्येबाट पनि ६ हजार कित्ता ऋणपत्र भने सामुहिक लगानी कोषहरूमा विक्री हुने जानकारी कम्पनीले दिएको छ ।
यो ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा माघ १३ गतेसम्म विक्री अवधि तय भएकोमा सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ २३ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीले ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो ।
यो ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरुले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन बाट पनि आवेदन दिन सकिनेछ ।