काठमाडौँ । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट ७६ जनाको मृत्यु भएको छ । ४५ जनाको शव परिवारलाई बुझाइएकोमा अन्यको शव फरेन्सिक जाँचका लागि पठाइएको छ आन्तरिक मन्त्री अली येर्लिकायालाई उद्धृत गर्दै विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।
आगलागीबाट ३२ जना घाइते भएकोमा उनीहरूको उपचार भैरहेको बताइएको छ । २३८ जना ग्राहक रहेको १२ तले होटलमा मंगलबार बिहान ३:३० बजे रेष्टुरेन्टको भुइँतलाबाट आगलागी शुरु भएको हो । आगलागी भएपछि दुई जनाले भवनबाट हाम फाल्दा मृत्यु भएको बताइएको छ ।
एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।