काठमाडौँ । कोरोना महामारी र त्यसपछि आएको आर्थिक मन्दीका कारण लामो समय थलिएको अटोमोबाइल व्यवसायमा सुधारको संकेत देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार गाडीहरूको आयात ४ वर्षअगाडिकै लयमा फर्किएको छ ।
विभागको तथ्यांकअनुसार चालु आवको पहिलो ६ महिनामा सवारीसाधनको आयात ३२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४७ अर्ब ९७ करोड रुपैयाँको सवारीसाधन आयात भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ३६ अर्ब ३२ करोड रुपैयाँका सवारीसाधन आयात भएका थिए ।
चालु आवको पहिलो ६ महिनामा भएको आयात २०७८/७९ पछिकै उच्चतम् हो ।
२०१९ को अन्त्यमा आएको कोभिड महामारीपछि आएको बन्दाबन्दीका कारण यो क्षेत्रमा संकट देखिएको थियो । तर २०७८/७९ मा भने अटोमोबाइल क्षेत्र पूर्ववत् लयमा फर्किएको थियो । उक्त आर्थिक वर्षमा वर्ष १ खर्ब २३ अर्ब रुपैयाँका सवारीसाधन आयात भएका थिए । जुन कोरोनापछिको ऐतिहासिक उच्चतम् आयात थियो ।
तर आर्थिक वर्ष २०७९/८० पछि भने आर्थिक मन्दीको असर अटोमोबाइल क्षेत्रमा देखिएको थियो । आव २०७९/८० मा सवारीसाधनको आयातमा ५० प्रतिशतले ह्रास आएकोमा गत आवमा पुन: आयातमा सुधार देखिएको थियो । गत आव २०८०/८१ मा १२ महिनाको अवधिमा कुल ७८ अर्ब बराबरको सवारीसाधन आयात भएकोमा यस वर्ष ६ महिनाको अवधिमै करिब ४८ अर्ब रुपैयाँ बराबरको सवारीसाधन भित्रिएका हुन् ।
पछिल्ला दुई वर्षयता सवारीसाधन आयातमा विद्युतीय गाडीको आयात उच्च देखिएको छ । गत आवको ६ महिनमा १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएकोमा चालु आवको साउनदेखि पुससम्ममा १३ अर्ब १० करोड रुपैयाँको सवारीसाधन भित्रिएका छन् ।