काठमाडौँ । अर्थसचिव रामप्रसाद घिमिरेले मन्त्रालयबाट कुनै पनि व्यवसाय संकूचित हुने काम नभएको दाबी गरेका छन् । बुधबार काठमाडौंमा ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
व्यवसाय संकूचित गर्ने उद्देश्य नभएको र नहुने पनि बताउँदै सानो व्यवसायीहरूका विषयमा पनि छलफल हुनुपर्ने उनले बताए । उनले भने, ‘हामीले जानि बुझिकन कुनै व्यवसायलाई संकुचित हुने हाम्रो उद्देश्य छैन र हुनु हुँदैन पनि । कहिलेकाँही सानो व्यवसायीको कुरा आउँदैन । सकेसम्म सबैको आउनुपर्छ । हामीले आर्थिक सुधार गर्ने कुरामा भन्सार महसुल सुधार गर्ने कुरामा हामी गर्छौं ।'
छुट्टै भन्सार महशुल ऐन आइसकेकाले भन्सारमा धेरै सुधार हुने अपेक्षा रहेको पनि उनले बताए ।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणलाई ध्यान नदिइ जथाभावी खर्च गर्ने नेताहरूलाई ठीक ट्रयाकमा ल्याउनुपर्ने बताए । उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहीँको त्यहीँ हुने टिप्पणी गरे ।
व्यवस्थापन क्षमता नभए जति नै ऋण अनुदान ल्याए पनि जहाँको त्यहीँ भइने उनको भनाइ थियो । 'हामीसँगै भएको देश कहाँ पुग्यो, तर हामी जहाँको त्यही किन उभिएको छौँ ? हामी जस्तो पूँजी निर्माणलाई ध्यान नदिइ जथाभावी खर्च गर्ने नेताहरूलाई ठीक ट्रयाकमा ल्याउनुहुन्छ कि भन्ने आशा पलाएको छ,' उनले भने ।