काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले माघ २१ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म ८८ दशमलव ४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो ।
सर्वसाधारण तर्फको यी शेयर फागुन ५ गतेसम्म लिलामीमा रहनेछ । प्रतिशेयर १०० रुपेयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्नेछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको थियो । पहिलो चरणमा उल्लेखित कित्ता शेयर भने वितरण नभएको हो । यो शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौं , शाखा कार्यालयहरु विरगञ्ज, विराटनगर, नेपाल गञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन प्राप्त गर्न र पेश गर्न सकिनेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।