शीर्षकहरू

मार्जिन कारोबारका लागि १०२ सूचीकृत कम्पनीको धितोपत्र मात्र योग्य, वाणिज्य समूहका १६ कम्पनी मात्र परे

मार्जिन कारोबारका लागि १०२ सूचीकृत कम्पनीको धितोपत्र मात्र योग्य, वाणिज्य समूहका १६ कम्पनी मात्र परे

काठमाडौं । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको धितोपत्रको सूची सार्वजनिक गरेको छ ।

माघ १५ गते नेप्सेले मार्जिन कारोबारका लागि योग्य १०२ कम्पनीको धितोपत्रको सूची सार्वजनिक गरेको हो । नेप्सेमा हाल २४४ कम्पनीको धितोपत्र सूचीकृत रहेको नेप्सले जानकारी दिएको छ । यी मध्ये २०२ कम्पनीको धितोपत्र मात्र मार्जिन कारोबारका लागि योग्य रहेको जानकारी नेप्सेले दिएको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि , २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको धितोपत्र मात्र मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ । मार्जिन कारोबारयोग्य धितोपत्र सम्बन्धी व्यवस्थामा मार्जिन कारोबार सेवा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीले नेप्सेले तोकेको कम्पनीको धितोपत्रमा मात्र सूविधा प्रदान गर्नुपर्ने हुन्छ ।

नेप्सेले कम्तिमा १० हजार शेयरधनी भएको , कम्पनीको खुद सम्पत्ति चुक्तापूँजीभन्दा कम नरहेको , पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको , दोस्रो बजारमा अघिल्लो आथिृक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीलाई मात्र मार्जिन कारोबारका लागि योग्य कम्पनीको रुपमा सार्वजनिक गर्ने गर्दछ ।

नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्नुपर्दछ भने प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र ती कम्पनीहरुको सूचीलाई अद्यावधिक समेत गर्नुपर्दछ । सूची अद्यावधिक गर्दा कुनै कम्पनी मौजुदा सूचीबाट हट्न गएमा त्यस्तो कम्पनीका लागि प्रदान गरेको मार्जिन सुविधा तीन कार्य दिनभित्र राफसाफ गर्नुपर्ने व्यवस्था छ ।

नेप्सेले सार्वजनिक गरेको १०२ कम्पनीको धितोपत्र सूचीभित्र सूचीकृत १९ वाणिज्य बैंकहरुमध्ये तीन बैंक समेटिन सकेका छैनन् । प्रभु बैंक, लक्ष्मी सन्राईज बैंक र प्राइम कमर्सियल बैंक मार्जिन कारोबार सुविधाका लागि अयोग्य कम्पनीको सूचीमा परेका हुन । वित्त कम्पनीतर्फ भने आईसिएफसी फाइनान्सको धितोपत्रमात्र मार्जिन कारोबारका लागि योग्य सावित भएको छ । विकास बैंक तर्फ ६ कम्पनीको धितोपत्र योग्य हुँदा लघुवित्त तर्फका ३४ कम्पनीको धितोपत्र मार्जिन कारोबारका लागि योग्य भएको छ ।

जीवन बीमा तर्फ ९ र निर्जीवन बीमा तर्फपनि ९ कम्पनीको धितोपत्र मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेको भनाई छ । त्यस्तै लगानी समूहका चार, उत्पादन तथा प्रशोधन समूहका चार, जलविद्युत तर्फका १५ , होटल तथा पर्यटन तर्फका २ र अन्यतर्फका २ कम्पनीमात्र मार्जिन कारोबारयोग्य कम्पनीको धितोपत्र सूचीमा परेका छन् । नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेपनि यो सुविधा भने कुनै पनि ब्रोकर कम्पनीहरुले प्रदान गरेका छैनन् ।