शीर्षकहरू

ऊर्जामन्त्रीविरुद्धका उजुरीमा छलफल गर्न डाकिएको बैठकमा कांग्रेस सांसद अनुपस्थित, कोरम नपुगेपछि स्थगित

ऊर्जामन्त्रीविरुद्धका उजुरीमा छलफल गर्न डाकिएको बैठकमा कांग्रेस सांसद अनुपस्थित, कोरम नपुगेपछि स्थगित
फाइल तस्वीर

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । बिहान ११ः३० बजे बोलाइएको बैठकमा १०सदस्यको मात्र उपस्थिति रह्यो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्याङ्कन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।
     
सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए ।
     
उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा २५ सदस्य हुनुहुन्छ छन्  । बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ । आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।