काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँका आधारमा ८४ करोड १९ लाख ६४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि कम्पनीले नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रस्तावित लाभांश प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कम्पनीले कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।