काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन १३ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय , थापाथली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै प्रस्तावित १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
गत वर्षको मुनाफबाट कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरुसागै कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै गत वर्ष चन्दा र सामाजीक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन र कम्नपीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।