शीर्षकहरू

जापानमा नेपाली विद्यार्थी : काम नपाएपछि 'डिप्रेसन'देखि आत्महत्यासम्म

जापानमा नेपाली विद्यार्थी : काम नपाएपछि 'डिप्रेसन'देखि आत्महत्यासम्म

टोकियो । वीरगञ्जकी पूजा ठकुरी अध्ययन भिसामा केही वर्ष पहिले जापान पुगेकी थिइन् । फुकु‌ओमा बस्दै आएकी उनले गएको नोभेम्बर ९ मा आत्महत्या गरिन् ।

दैलेख घर भएकी राधिका रावत अध्ययन भिसामा जापान पुगेकी थिइन् । जापानको साइतामा बस्दै आएकी उनले गत २६ नोभेम्बरमा आत्महत्या गरिन् ।  कर्णाली प्रदेश समाज जापानले उनको त्यहीँ दाहसंस्कार गर्‍यो ।

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय जापान जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । तर काम नपाउँदा डिप्रेसनदेखि आत्महत्याको कदमसम्म चाल्ने शृंखला यहाँ बढ्दै गएको छ । पछिल्लो समयमा जापानमा नेपाली विद्यार्थीले आत्महत्या गर्ने क्रम बढेको छ । तर, जापानमा आत्महत्याको घटनालाई सार्वजनिक गरिँदैन । विश्वमा सबैभन्दा बढी आत्महत्या हुने देशहरूमा जापान पनि पर्छ, यहाँको सरकारले आत्महत्याको तथ्यांक भने सार्वजनिक गर्दैन । आत्महत्यालाई मृत्यु भएको भनिन्छ । त्यसैले आत्महत्याका घटना धेरै पनि सोअनुसार बाहिर भने आउँदैन ।

अध्ययन भिसामा रोजगारीका लागि जाने विद्यार्थीहरूले अपेक्षा गरेअनुसार काम नपाउने र काम पाए पनि आम्दानी पर्याप्त नहुने हुँदा विद्यार्थीहरू निराश हुने गरेको पत्रकार संघ जापानका अध्यक्ष सन्त पहारी बताउँछन् । ‘नेपालबाट कन्सल्टेन्सीले जापान पुग्नेबित्तिकै काम पाइने र मनग्ये  आम्दानी गर्न सकिने प्रलोभन देखाएर पठाउँछन् । तर, नेपालमा भनिए जस्तो काम र दाम यहाँ हुँदैन,’ उनले भने । 

नेपालमा घर परिवारमा खेल्दै हुर्कँदै गरेको विद्यार्थी जापान आएर रात दिन अध्ययन र काममा व्यस्त हुँदा मानिसक रूपमा पनि विक्षिप्त हुने उनले सुनाए । ‘नेपाल र जापानको संस्कृति फरक छ । भर्खरै १२ कक्षा सकेर आएका विद्यार्थी जापानको संस्कृतिसँग छिट्टै घुलमिल हुन पनि सक्दैनन,’ उनले भने । त्यसैले यस्तो घटना घट्ने गरेको उनको अनुभव छ । 

१४ देखि १८ लाखसम्म भुक्तानी गर्छन् विद्यार्थी 
सर्लाहीका २२ वर्षीय कुशल यादव जापान आएको ८ महिना भयो । उनी जापानिज भाषा अध्ययनको लागि विद्यार्थी भिसामा जापान आएका हुन् । कन्सल्टेन्सीलाई १४ लाख रुपैयाँ बुझाए ।

सामान्य परिवारका कुशललाई जापान पुगेपछि राम्रो आम्दानी गर्न सकिने कन्सल्टेन्सीले बताएको थियो । जापान पुग्नेबित्तिकै भने जस्तै काम पाइने भन्दै कन्सल्टेसीले सल्लाह दिएपछि दाजुले केही व्यक्तिसँग ऋण मागेर र सहकारीबाट कर्जा लिएर कुशललाई जापान पठाए । तर जापान आए पनि उनले काम भने पाएनन् ।  उता ऋणको ब्याज बढेको बढ्यै छ, यता काम नपाएपछि उनी निराश देखिन्छन् ।

‘दाजुले १४ लाख नै ऋण लिनु भएको हो । अहिले सावा र ब्याज तिर्ने जिम्मेवारी मेरो काँधमा छ,’ उनले भने, ‘कन्सल्टेन्सीले भने जस्तै गरी यहाँ सहजै काम नपाइने रहेछ । उता ब्याज बढेको बढ्यै छ । राति निन्द्रा पनि लाग्दैन । क्लासमा पढ्न बस्ने भन्ने मात्रै हो । काम कसरी पाइन्छ भन्ने सोचले नै दिमाख खान्छ ।’ उनले अहिले सानो तिनो काम पाएका छन् । तर, खर्च धेरै छ । घरमा परिवारलाई खर्च पनि पठाउनु पर्नेछ, ऋणको तिर्नुपर्ने । कलेजको फि र बस्नेखाने खर्च चर्को हुँदा किस्ता बुझाउन नसकेको उनी बताउँछन् ।

कास्कीका रमण पौडेल भर्खरै २० वर्ष लागे । १२ कक्षा उत्तीर्ण गरेपछि उनी जापान हानिएका हुन् । जापान आएको तीन महिना भयो । आउनका लागि उनले कन्सल्टेन्सीलाई १४ लाख रुपैयाँ बुझाएका थिए । अन्य प्रक्रियाको खर्च जोड्दा १८ लाख रुपैयाँ जति खर्च भएको उनी बताउँछन् । कुशललाई जस्तै रमणलाई कन्सल्टेन्सीले जापान पुग्नेबित्तिकै काम पाइने बताएका थिए । तर, रमणले अहिलेसम्म काम पाएका छैनन् । उनलाई जापानिष भाषा पनि राम्रोसँग आउँदैन । त्यसैले पनि पौडेलले काम पाउन सकेका छैनन्  । 

उसो त जापानले विद्यार्थीलाई काम गर्नका लागि निश्चित समेत तोकेको छ । कन्सल्टेन्सीले भने लुकेर प्रशस्त मात्रामा काम पाइने बताएका थिए । तर, कन्लल्टेन्सीले भने जस्तो काम नपाइने उनले बताए । 

रमणलाई घरमा पैसा पठाउन दबाब त छैन । तर, परिवारले आफ्नो लागि लिएको ऋणको बोझ भने उनको मन मस्तिष्कमा छ । ‘घरबाट त भन्नु हुन्न । तर, मलाई थाहा छ त्यो रकम मैले नै चुक्ता गर्नुपर्छ । परिवारले भुक्तानी गर्न सक्ने अवस्था छैन,’ उनले भने । 

काम खोज्नको लागि उनले चिने जानेको सबैलाई भनेका छन् । तर, धेरै ठाउँमा भाषा जानेको छ कि छैन भनेर सोध्छन् । भाषा नआउँदा पनि काम पाउन कठिनाई भएको उनले बताए । 

पछिल्लो समयमा अध्ययन भिसाको नाममा रोजगारीका लागि जापान आउने संख्या ह्वातै बढेको छ । जापानको सहज भिसा नीतिले नेपाली विद्यार्थी जापानप्रति आकर्षित भएका छन् । राम्रो हावापानी, सेवा शुल्क, सामाजिक सुरक्षा, उच्च पारिश्रमिक, उद्धार नीति भएकोले जापान रोजगारीको लागि आकर्षक मुलुक बनेको छ । 

विशेषगरी मध्यम वर्गीय र अमेरिका अष्ट्रेलियामा भिसा रिजेक्ट भएका विद्यार्थीको लागि जापान सहज बनेको छ । तर, पर्याप्त जानकारी नलिइई जापान आउँदा धेरै विद्यार्थी डिप्रेसनको शिकार भएका छन् भने केहीले आत्महत्या समेत गरेका छन् । 

जापान गाको (जापानिज सिकाइ संस्था) को वार्षिक शुल्क ६ देखि ७ लाख रुपैयाँ हुन्छ । तर, नेपालमा भएका कन्सल्टेन्सीले अहिले १४ लाख रुपैयाँसम्म लिएर विद्यार्थी पठाउने गरेको जापानमा लामो समय देखि बस्दै आएका जिवन कुमार क्षेत्रले बताए ।

‘कन्सल्टेन्सी पनि व्यवसायी हुन् । उनीहरूले आफूले गरेको कामको शुल्क मात्रै राख्ने हो भने पनि १४ लाख पुग्दैन । तर, विद्यार्थीको ढाड सेक्नेगरी कन्सल्टेन्सीले रकम असुल्छन्,’ उनले भने । यसमा विद्यार्थी र अभिभावक पनि उत्तिकै दोषी भएको उनको ठहर छ ।

प्रत्येक 'गाको'ले आफ्नो शुल्क वेबसाइटमा राखेका हुन्छन । उनीहरूले वेबसाइट भिजिट गरेर पनि  जानकारी लिन सक्छन्  । ‘तर विद्यार्थी र अभिभावक कन्सल्टेन्सीले जे भन्छ त्यही गरेर आउँछन्,’ उनले भने । उनकाअनुसार विद्यार्थीहरू गाको र कोठाको शुल्क मात्रै हैन एयरलाइन्सको टिकटमा पनि ठगिन्छन् । 

‘कन्सल्टेन्सीले विद्यार्थी भिसा मात्रै हैन एयरलाइन्सको टिकट पनि काटिन्छन् । टिकटबापत उनीहरूले चर्को कमिशन पनि लिन्छन्,’ उनले भने । विद्यार्थीमा कति बेला जापान पुगेर पैसा कमाउँ भन्ने ध्याउन्न हुन्छ । त्यो बेला कन्सल्टेन्सीमा थोरैथोरै गरी सबैबाट ठगिएको उनीहरूले हेक्का नै राख्दैनन् । 

१२ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि जापान आउने विद्यार्थी बढेका हुन् । जापानले वर्षमा चारवटा इनटेकमा विदेशी विद्यार्थी भित्राउँछ । 

जनवरी, अप्रिल, जुलाई र अक्टोबार इनटेकमा विदेशी विद्यार्थी भित्राउने गरेको छ । अप्रिलमा जापानमा धेरै विदेशी विद्यार्थी भित्रन्छन् । अप्रिलदेखि जापानमा नयाँ कक्षा सञ्चालन हुन्छ । त्यसैले उक्त इनटेकमा धेरै विद्यार्थी जापानमा भित्रन्छन् । अन्य इनटेकमा पनि विद्यार्थी आउछन् । तर, अप्रिलमा सबैभन्दा धेरै हुन्छ । मार्चमा ग्राजुएशन हुन्छ । 

जापानमा पुग्ने विद्यार्थीले सुरुमा काम गर्ने भनेको एमातो (कार्गो कम्पनीमा समान ओसार पोसार गर्ने), बेन्तो (खाना बनाउने), साकाना (माछा काट्ने), कोमिनी स्टोर, बेड मेकिङ्ग, रेष्टुरेन्टमा हो । 

औसतमा विद्यार्थीले प्रतिघण्टा एक हजार रुपैयाँ आम्दानी गर्छन् । मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्छन् । 

जुन पैसाले विद्यार्थीले आफ्नो कलेजको फि, खाने, बस्ने र यातायात खर्च, जापान आउदा लागेको ऋणको सावा ब्याज र घर खर्च समेत जुटाउनु पर्ने हुन्छ । तर, यो पैसा विद्यार्थीको लागि पर्याप्त भने हुँदैन  । जापानमा कोठा भाडा र यातायात शुल्क अत्याधिक महँगो छ । जसका कारण विद्यार्थीले यी सबै खर्च धान्न सक्दैनन् । 

अध्ययन पूरा नहुँदासम्म विद्यार्थीले जापान पुगेको ऋणसम्म तिर्न सक्ने क्षमता नहुने जापानमा अध्ययन गरिरहेको नेपाली विद्यार्थी हिमाल तमाङले बताए । ‘पढ्दै कमाएको पैसाले गोको फि तिर्न, खान, बस्न र यातायातमा नै सकिन्छ । जापानमा आएको ऋण तिर्ने पैसा पठाउन सकिँदैन,’ उनले सुनाए । तर, अधिकांश विद्यार्थी परिवारले ठूलो अपेक्षा गरेका हुन्छन् ।  जसकारण विद्यार्थी डिप्रेसनमा जाने र आत्महत्या गर्ने अवस्थामा सम्म पुग्ने गरेका छन् ।


भाषा समस्याले रोजगारीमा समस्या : भाषा नसिकाइ पठाउँछन् कन्सल्टेन्सी
जापानमा रोजगारीको पहिलो शर्त भनेको भाषा र सिप हो । अध्ययन लागि जाने विद्यार्थीले पनि भाषा जानेको हुनुपर्नेछ । जापान सरकारको नियम अनुसार विद्यार्थीले १८० देखि १९० घण्टा भाषा कक्षा लिएको हुनुपर्नेछ । तर, जापान जाने अधिकांश विद्यार्थीले भाषा नै नपढी जापान पुग्छन् । विद्यार्थीसँग सिप पनि नहुने र भाषा पनि नहुँदा जागिर पाउन अत्यन्तै कठिन हुने गरेको जापानमा लामो समय देखि बस्दै आएका सरोज कुमार खत्रीले बताए  । 

अध्ययन भिसमा जापान जाने विदेशी विद्यार्थीले १८० देखि १९० घण्टा जापानिज भाषा अध्ययन गरेको हुनुपर्ने व्यवस्था छ । तर नेपालमा कन्सल्टेसीले पढ्दै नपढेको विद्यार्थीलाई प्रमाणपत्र दिएर पठाउने गरेको उनले बताए । ‘विद्यार्थी पनि पढ्न नचाहने । जापान पुगेपछि जीवन नै कायापलट हुन्छ भने जस्तै गर्ने अनि कन्सल्टेन्सीलाई पनि पैसा पाए आफनो दायित्व पनि पुरा गर्न नचाहने,’ उनले भने । 

तर, भाषा नजानेका विद्यार्थीले नेपालको शैक्षिक योग्यताको आधारमा जापानमा काम पाउन ज्यादै कठिन हुने गरेको उनले बताए । नेपाल आएको ४ देखि ६ महिना हुँदा पनि विद्यार्थीले काम पाउँदैनन् । 

अध्ययन भिसामा जापान पुग्ने विद्यार्थीले अनिवार्य रुपमा दुई वर्षे भाषा अध्ययन गर्नैपर्छ । त्यसपछि विद्यार्थीसँग दुई वटा विकल्प हुन्छ । सेनमोन गाको (भोकेशनल कोर्स गर्ने) वा युनिभर्सिटीमा भर्ना हुने । भोकेशनल कोर्श दुई देखि तीन बर्षको हुन्छ । त्यस्तै, विद्यार्थीले चाहेमा युनिभर्सिटीमा भर्ना भएर थप अध्ययन गर्न सक्छन् । युनिभर्सिटी चार बर्षको हुन्छ । तर, अधिकांश नेपाली विद्यार्थीहरू भोकेशनल कोर्श गर्ने गरेको नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष गोपाल शर्माले बताए । 

सेनमोन गाकोमा इन्जिनियरिङ्ग, कम्प्यूटर विज्ञान, ग्राफिक डिजाइन, अँग्रेजी शिक्षण, हस्पिटालिटी म्यानेजमेन्ट, स्वास्थ्य विज्ञान, फेशन डिजाइन, मेकअप आर्ट, अटोमोबाइल लगायतका विषयमा प्रयोत्मक शिक्षा दिइन्छ । यो कोर्श पछि विद्यार्थीले जापानमा सिधै  वर्किङ्ग भिसामा लागि आवेदन दिन सक्छन् । ‘तर नेपाली विद्यार्थीहरू पढ्का लागि भन्दा पनि पैसा कमाउनका लागि आउने भएकोले भोकेशनल कोर्श गर्छन् । यो गर्नुको उद्धेश्य भिसा लम्बाउनु मात्रै हो । 

केही थोरै विद्यार्थी मात्रै युनिभर्सिटी पुग्छन् । केही नेपाली भने जापान सरकार र अन्य निकायको स्कलरसीप पनि जापान पुग्ने गरेका छन् । युनिभसिर्टमा जाने विद्यार्थीलाई शुरुका दुई बर्ष कठिन हुन्छ । त्यो समयलाई पारेपछि भने भविष्य सुन्दर हुने उनले बताए । ‘युनिभर्सिटीमा स्कलरसिप हुन्छ । विद्यार्थीले आफैले निवेदन दिन प्रशस्त स्कलसिप लिन सक्छन्,’ उनले भने । 

विभिन्न भिसामा जापान पुग्ने नेपालीको संख्या करिब दुई लाख २३ हजार पुगेको छ । जसमध्ये गत २०२४ को डिसेम्बरसम्ममा विद्यार्थी भिसामा जानेको संख्या ५५ हजार पुगेको छ । चिन पछि धेरै विद्यार्थी अध्ययन लागि जापान जानेमा नेपाल दोस्रोमा पर्छ । 

जापानमा चिन, नेपाल, फिलिपिन्स, दक्षिण कोरिया, बंगलादेश, श्रीलंका लगायतका विद्यार्थी अध्ययनका नाममा रोजगारीका लागि पुग्ने गरेका छन् ।