शीर्षकहरू

विशाल बजार कम्पनीले प्रस्ताव गर्‍यो १४ प्रतिशत लाभांश, फागुन २८ गते साधारण सभा

विशाल बजार कम्पनीले प्रस्ताव गर्‍यो १४ प्रतिशत लाभांश, फागुन २८ गते साधारण सभा

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले पहिलो पटक लाभांश वितरणको प्रस्ताव गरेको छ ।

माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ सम्मको मुनाफाबाट १४ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २८ गते ३४ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लव, सुन्धारा, काठमाडौंमा विहान ११ बजे बोलाइएको हो ।

कम्पनीले पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण एउटै सभामार्फत पारित गर्न लागेको हो । अन्य शेयरधनीहरुलाई १४ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश नेपाल सरकारलाई समेत वितरण गरिसकेको जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ र चालू आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । आर्थिक वर्ष ०७५/७६ सम्मको सञ्चालक समितिको भत्ता एवम् सुविधालाई अनुमोदन गर्ने र सञ्चालक राजेन्द्र कुमार बैद्यको राजीनामा अनुमोदन गर्दै सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

कम्पनीको शेयरपूँजी ४ अर्ब १ करोड कायम भए बमोजिम सभाले अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन गर्ने प्रस्ताव समेत सभाका लागि तय गरिएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ९ गते एक दिन बुक क्लाज गर्न लागेको छ । बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।