काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकको शैक्षिक योग्यतामा कैफियत भेटिएको छ । कम्पनीले बीमा ऐन २०७९ मिचेरै शैक्षिक योग्यता र कर चुक्ताको पर्याप्त प्रमाण नभएका व्यक्तिलाई सञ्चालकमा नियुक्त गरेको भेटिएको हो ।
कम्पनी तथा बीमा प्राधिकरण स्रोतका अनुसार कम्पनीका तीन जना सञ्चालकले विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको समकक्षता प्रमाणपत्र नै नलिइएको पाइएको छ । कम्पनीका सञ्चालक आकाश गोल्छा, स्वतन्त्र सञ्चालक चुडामणि देवकोटा, प्रिया तयालको विदेशी विश्व विद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण नै नलिइएको पाइएको हो ।
यो पनि : यसरी प्रयोग हुन्छ बीमा कम्पनीमा कालोधन
बीमा ऐन २०७९ को दफा ४९ मा सञ्चालकको योग्यता तोकिएको छ । जसअनुसार बीमा कम्पनीमा नियुक्ति हुने सञ्चालकले बीमा, सञ्चालकले मौद्रिक, बैकिङ, वित्तीय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानुन विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । तर, सूर्यज्योति लाइफ इन्स्योरेन्स सञ्चालकहरुले विदेशी विश्वविद्यालयबाट अध्यापन गरेको उल्लेख गरे पनि समक्षकताको प्रमाणपत्र नै नभएको पाइएको छ ।
त्यस्तै, कम्पनीका सञ्चालक केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तयालको कर चुक्ता प्रमाणपत्र नभएको फेला गरेको छ । बीमा ऐनको दफा ५० मा सञ्चालकको अयोग्यता तोकिएको छ । जसअनुसार प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता नगरेको व्यक्ति सञ्चालक हुन नसक्ने व्यवस्था गरिएको छ । तर, कम्पनीले कर चुक्ता गरेको प्रमाणपत्र नभएका व्यक्तिलाई पनि सञ्चालकमा नियुक्त गरेर बीमा ऐन उल्लंघन गरेको छ ।
त्यस्तै, सञ्चालक समितिले ऐन, नियमावली पालना भए नभएको सम्बन्धमा पनि कार्यविधि नबनाएको पाइएको छ । संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को बुँदा ११ (१) को व्यवस्था बमोजिम बीमकको सञ्चालक समितिले ऐन, नियम, प्रचलित कानुन, प्राधिकरणबाट जारी भएको निर्देशन, सञ्चालक समितिबाट बनाइएका नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन, परिपत्र वा कार्यविधि पालना भए नभएको सम्बन्धमा कार्यविधि बनाउनुपर्नेछ छ । साथै प्रत्येक तीन/तीन महिनामा अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ । तर, कम्पनीले निर्देशिका भएको सो व्यवस्था समेत पालना नगरेको पाइएको छ ।
कर्मचारी नियुक्तिमा पनि हेराफेरी
ज्योति लाइफ इन्स्यारेन्स कम्पनीले कर्मचारी नियुक्तिमा हेराफेरी गरेको पाइएको छ । कम्पनीले योग्यता नपुगेका कर्मचारीलाई पनि आफूखुशी नियुक्त दिइएको पाइएको हो ।
स्रोतका अनुसार कम्पनीले ब्रान्च म्यानेजर रवीन्द्रप्रसाद शर्मा, एरिया सेल्स म्यानेजर मोहनकुमार माझी र अफिसर राजेश खड्काको योग्यता प्लस दुई मात्रै भएको पाएको छ । संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३३ (२) अनुसार सो पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । तर, कम्पनीले सुशासनको निर्देशिका उल्लंघन गर्दै कर्मचारी नियुक्त गरेको पाइएको हो ।
यो पनि : सूर्यज्योतिमा संस्थागत सुशासन उल्लघंन : योग्यता नपुगेका कर्मचारी नियुक्त
त्यस्तै, केही कर्मचारीलाई कम्पनीले नियुक्त पत्र प्रदान नगरेको र शैक्षिक योग्यता नै पेश नभएको पनि पाइएको छ । आर्थिक न्युजलाई प्राप्त सुचनाका अनुसार रमेश कुमार केसीको विभिन्न तहका शैक्षिक योग्यता चारित्रिक प्रमाणपत्रहरु नै नभएको पाइएको छ । राजीव गुरुङ र आशुतोष तमाङको पदोन्नती तथा अन्य कागजात अद्यावधिक नभएको पाइएको छ । आशिष ज्ञवाली, विशाल विक्रम शाह, मेघेन्द्र प्रकाश गिरी, गीता बस्नेत र जयेन्द्र डंगोलको कार्य विवरण नै नभएको पाइएको छ ।
संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३३ (३) अनुसार सबै कर्मचारीलाई कार्यकारी प्रमुखले तोकिएको ढाँचामा नियुक्त पत्र र कार्य विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, कम्पनीले सो व्यवस्था पालना नगरेको पाइएको छ ।