काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड बढीको व्यापार गरेका छन् । चालु आवको माघ मसान्तसम्म ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड २८ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् ।
यो अवधिमा कम्पनीहरूले २ लाख २४८ वटा बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । जसमध्ये ३१ हजार ७७७ वटा बीमा लेख माघ महिनामा जारी भएको छ ।
माघ मसान्तसम्म सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहेको छ । नेपाल माइक्रोले १४ करोड ६८ लाख रुपैयाँको व्यापार गरेको छ । जसले ७ महिनामा ५८ हजार ११७ वटा बीमालेख बिक्री गरेको छ । १२ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४७ हजार ६७९ वटा बीमालेख बिक्री गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
५२ हजार ८३७ वटा बीमालेख बेचेको स्टार माइक्रो इन्स्योरेन्सले ११ करोड ६६ लाख र ४१ हजार ६०० वटा बीमालेख बिक्री गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले ११ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।