शीर्षकहरू

अटोमोबाईल क्षेत्रमा थप ५० हजार रोजगारी सिर्जना गर्न सकिन्छ : अध्यक्ष चौधरी

अटोमोबाईल क्षेत्रमा थप ५० हजार रोजगारी सिर्जना गर्न सकिन्छ : अध्यक्ष चौधरी

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोबाईल एशोसिएशन अफ नेपालबीच छोटो अवधिको तालिम विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएसँगै उक्त सम्झौता पनि सम्पन्न भएको हो । 

लागत साझेदारीमा अटोमोबाईल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा यस्तो सम्झौता गरिएको नाडाले जनाएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका थिए । 

उक्त सम्मेलनमा नाडाका अध्यक्ष  चौधरीले अटोमोबाईल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिएका छन् । आफनो प्रस्तुतीको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोबाईल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुती दिएका थिए ।

उक्त सम्मेलनको प्यानलिष्टको वक्ताको रुपमा बोल्दै उनले नेपाली उद्योगमा दक्ष श्रमिकको अभाव रहेको बताए । उनले युवाहरू विदेश पलायन हुने लहरले गर्दा नेपाली उद्योग क्षेत्रमा दक्ष श्रमिकको अभाव भएको उल्लेख गरे । यस्तै, उनले सोही कारणले अटोमोबाईल क्षेत्रमा पनि दक्ष श्रमिक अभाव देखिएको बताए ।

विदेशको रहन सहनप्रती नेपाली युवा आकर्षित भएका कारणले पनि युवाहरू विदेश पलायन हुने गरेको उनको धारणा थियो ।

उनले हाल नेपालको अटो बजारमा ५ लाख युवाले प्रत्यक्ष रोजगारी पाएको जानकारी गराउँदै उनले थप ५० हजार रोजगारी अगामी ५ वर्षभित्र सिर्जना गर्न सकिने दाबी गरे ।

यसका साथै उनले नेपालको कुल जीडीपीकाे ५ प्रतिशत हिस्सा अटो क्षेत्रले ओगटेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि अटो क्षेत्र खम्बा बन्न सक्ने दाबी गरे।

उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्र कुमार उप्रेती, केन्द्रीय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।