काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुलाएको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब चैत १४ गतेसम्म आवेदन दिन पाइने भएको छ ।
यस अघि कम्पनीले आवेदन दिने अन्तिम मिति फागुन २८ गतेलाई तोकेको थियो । कम्पनी चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशतले हुन आउने ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरेको थियो। अर्थात् माघ १५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि कम्पनीले हकप्रद जारी गर्ने निर्णय गरेको थियो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।