काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ ।
निक्षेप बोलकबोलका लागि आज दिउँसो ३ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
गत फागुन ६ गते केन्द्रीय बैंकले ४० अर्ब माग गर्दा बैंकहरुले बुझाएको १० अर्ब ४० करोड पनि आजै परिपक्क हुँदैछ । त्यस्तै ९८ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) पनि आजै परिपक्क हुने भएपछि केन्द्रीय बैंकले एकैदिन ५० अर्ब खिच्न लागेको हो ।
यसअघि गत फागुन २५ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि २५ अर्ब तरलता प्रशोचन गरेको थियो । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ५५ पटकमा १९ खर्ब ६३ अर्ब ६० करोड रुपैयाँ खिचेको छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा ७७ अर्ब ५० करोड परिपक्क हुन बाँकी छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६७ खर्ब ५५ अर्ब नाघेको छ भने ५४ खर्ब ६२ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.५५ प्रतिशत कायम रहेको छ । बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन् । बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।