काठमाडौं । कोशी प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रको बीमा गर्ने तयारी गरेको छ । जंगली हात्तीको आक्रमणले कोशी प्रदेशका विभिन्न जिल्लामा बर्षेनी ठूलो मात्रामा मानविय र भौतिक क्षति हुने भएपछि प्रदेश सरकारले प्रभावित क्षेत्रको बीमा गर्ने तयारी गरेको नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुख उप-निर्देशक विनोद प्रोख्रेलले जानकारी दिए ।
प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रको बीमा गर्नका लागि सहजीकरण गर्न प्राधिकरणको प्रदेश कार्यालयलाई पत्राचार गरेको प्रदेश कार्यालय प्रमुख पोख्रेलले बताए । ‘कोशी प्रदेशको वन, पर्यटन तथा उर्जा मन्त्रालयले पत्राचार गरी बीमाका लागि सहजीकरण गर्न भनेको छ । मन्त्रालयका प्रतिनिधिसँग बसेर हामीले छलफल पनि गर्यौ । शायद अर्को वर्ष देखि बीमा कार्यक्रम सुरु हुन्छ,’ उनले भने । यो वर्ष कार्यक्रम सुरुवात गर्न ढिला भै सकेको छ । त्यसैले यो वर्ष प्रदेश सरकारले अनुदान रकम नै वितरण गर्ने र अर्को वर्ष देखि कार्यक्रम सुरु गर्ने तयारी गरेको उनले बताए ।
हात्तीले कोशी प्रदेशका चार जिल्ला झापा, मोरङ, उदयपुर र सुनसरीमा बढी क्षति पुराउँदै आएको छ । हात्तीको आक्रमणले बालीनाली, पशुपन्छी, घर र मानविय क्षति पनि हुन्छ । त्यसैले कस्तो खालको बीमा पोलिसी बनाउने भन्ने बिषयमा प्राधिकरणको केन्द्रीय कार्यलयसँग छलफल भै रहेको प्रदेश कार्यालय प्रमुख पोख्रेलले बताए । ‘सामान्यतया एउटा बीमा पोलिसीले एकै खालको क्षतिको मात्रै जोखिम रक्षावरण गर्छ । तर हात्तीको आक्रमणबाट धेरै खालका भौतिक र मानविय पनि क्षति हुने हुँदा कस्तो खालको पोलिसी बनाउने भन्ने बिषयमा छलफल गरी रहेका छौ,’ उनले भने ।
प्राधिकरणले हात्तीको आक्रमणबाट हुने क्षतिलाई सम्पति बीमामा नै राइडर थप गरी सबै खालको जोखिमको रक्षावरण गर्ने योजना बनाएको पनि उनले बताए । ‘सम्पति बीमामा नै घर, पशुपन्छी, बालीनाली र घर परिवारको पनि जोखिमलाई समेट्न सकिन्छ कि भन्ने बिषयमा छलफल गर्देछौ,’ उनले भने । पोलिसी बनाउनका लागि प्रदेश सरकारसँग विगतका वर्षह?मा हात्तीले क्षति पुराएको तथ्यांक मागिएको प्रमुख प्रमुख प्रोख्रेलले बताए ।
कोशी प्रदेश सरकारले हात्ती प्रभावित स्थानीयलाई वर्षेनी क्षतिपूर्ति वितरण गर्दै आएको छ । तर, सो रकम पर्याप्त भने छैन । त्यसैले क्षतिपूर्ति वापत भुक्तानी गरिने रकम नै बीमाशुल्क भुक्तानी गरी ठूलो जोखिम हस्तान्तरण गर्न सकिने उनले बताए ।
कोशी प्रदेशमा हात्ती प्रभावितका लागि बीमा पोलिसी अति आवश्यक भएपछि बीमा कम्पनीहरु भने बीमा गर्न त्यति इच्छुक छैनन् । हात्ती आक्रमणबाट हुने जोखिम दर उच्च भएपछि बीमा कम्पनीहरु बीमा गर्न अनिइच्छुक भएको उनले बताए । ‘हात्तीको आक्रमणबाट क्षति हुने पक्का छ । दाबी पर्ने पक्का पक्की हुने भएपछि बीमा कम्पनीह?लाई घाटा हुन्छ । त्यसैले उनीहरु यो बीमा गर्न चाहदैनन्,’ उनले भने । तर, प्रभावित क्षेत्रको सबै खालको बीमा गरेपछि कम्पनीहरु पनि आकर्षित हुनेछन् । ‘हात्तीले एक पटकमा एउटा घर परिवारको सबै खालको क्षति त नगर्ला नी,’ उनले भने । कोशी प्रदेशमा बीमा कम्पनीह?को ४५० वटा भन्दा बढी शाखा कार्यलय छन् ।
कोशी प्रदेशमा हात्ती प्रभावित विषय राजनीतिक रुपमा पनि प्रमुख मुद्दा बनेको छ । प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित जिल्ला वस्तु स्थित बुझ्न स्थलगत नै अवलोकन गरेका थिए ।