शीर्षकहरू

साढे २ वर्षपछि प्राधिकरणले पायो महिला सञ्चालक, राधा पोखरले नियुक्त

साढे २ वर्षपछि प्राधिकरणले पायो महिला सञ्चालक, राधा पोखरले नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । आज शुक्रबार अर्थ मन्त्रालयले पोखरेललाई महिला सञ्चालकमा नियुक्त गरेको हो । उनले आइतबार शपथ ग्रहण गर्ने छिन् । 

बीमा ऐन, २०७९ को दफा ६ मा प्राधिकरणमा एक जना महिला सञ्चालक रहने व्यवस्था उल्लेख गरिएको छ । तर, ऐन जारी भएको साढे २ वर्षसम्म पनि मन्त्रालयले प्राधिकरणमा महिला सञ्चालक पठाउन सकेको थिएन । तर, अर्थमन्त्री विष्णु पौडेलको शुक्रबार मन्त्री स्तरीय निर्णयबाट पोखरेललाई सञ्चालकमा नियुक्त गरेका हुन् । 

प्राधिकरणमा ५ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । जसमध्ये बीमा विज्ञका रूपमा २ जना सञ्चालक रहने व्यवस्था छ । त्यसमध्ये एक जना सञ्चालक महिला हुनुपर्ने ऐनमा उल्लेख छ ।

यस्तै, एक जना अर्थ मन्त्रालयको सहसचिव र अर्का एक जना कानून मन्त्रालयका सहसचिव सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । अध्यक्ष भने मन्त्रीपरिषद्ले नियुक्त गर्ने प्रावधान रहेको छ । हाल प्राधिकरणमा अध्यक्षको रुपमा शरद ओझा, अर्थ मन्त्रालयको तर्फबाट सहसचिव मदन दाहाल सदस्य, कानून मन्त्रालयको तर्फबाट सहसचिव मान बहादुर अर्याल र बीमा विज्ञको रुपमा सन्तोष रिजाल रहेका छन् । 

मन्त्रालयले पोखरेललाई महिला सञ्चालकका रुपमा नियुक्त गरेसँगै प्राधिकरणको सञ्चालक समितिले पूर्णता पाएको छ ।