काठमाडौं । जापान बस्ने नेपालीको संख्या बढेर दुई लाख ३३ हजार ४३ पुगेको छ । जापान सरकारको अध्यागमन ब्यूरोले प्रकाशित गरेको तथ्यांक अनुसार जापान बस्ने विदेशी मुलुकका नागरिकको आधारमा नेपालको स्थान पाँचौ स्थानमा पुगेको छ । सन् २०२४ को डिसेम्बरको अन्त्यसम्मको तथ्यांक अनुसार नेपालले ब्राजिललाई उछिनेको छ ।
तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालीहरूको संख्या जापानमा निकै बढेको छ । सन् २०१२ मा जापानमा बस्ने नेपालीको संख्या जम्मा २४, हजार ७१ थियो । २०२४ को अन्त्यसम्ममा आइपुग्दा यो संख्या बढेर दुई लाख ३३ हजार ४३ पुगेको छ । नेपालबाट भाषा तथा उच्च शिक्षा अध्ययनका लागि ठूला संख्यामा विद्यार्थीहरू जापान जान थालेपछि संख्या पनि बढ्दै गएको हो । जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरू बढ्दो छ । जसका कारण जापानको श्रम बजारमा विदेशी कामदारहरूको माग बढेको छ । विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा नेपालीहरू कार्यरत छन् ।
जापानमा बसोबास गरिरहेका बिदेशीहरुमध्ये चिनियाँ नागरिकको संख्या ८ लाख ७३ हजार २८६ छ । भियतनामीको संख्या भियतनाम ६ लाख ३४ हजार ३६१ छ । दक्षिण कोरियालीको संख्या ४ लाख ९ हजार २३८ छ । फिलिपिनीको संख्या ३ लाख ४१ हजार ५१८ पुगेको छ । ब्राजिलीको संख्या २ हजार ११ हजार ९०७ छ । इन्डोनेशियालीे संख्या १ लाख ९९ हजार ८२४ छ । म्यानमारि १ लाख ३४ हजार ५७४ छ । ताईवानेलीको संख्या ७० हजार १४७ छ भने अमेरिकीको संख्या ६६ हजार १११ छ ।
जापानको इमिग्रेसन सर्भिस एजेन्सी अनुसार जापानमा बस्ने नेपालीमध्ये २० देखि २९ उमेर समूहका बढी छन् । गत जुनसम्मको तथ्यांक अनुसार सो उमेर समूहका ५९ हजार ७०२ नेपाली जापानमा बस्छन् । २५ देखि २९ उमेर समूहका ४८ हजार ३०४ जना छन् । ३० देखि ३४ उमेर समूहका ३१ हजार ३३० नेपाली छन् । ३५ देखि ३९ उमेरका १८ हजार ७३२ जना छन् । ४० देखि ४४ उमेर समूहका १० हजार ८९३ जना छन् । ४५ देखि ४९ उमेरका ५ हजार ७४४ जना नेपाली छन् ।
त्यस्तै ८० वर्ष भन्दा माथिको उमेरका ६ जना नेपाली छन् । ४ वर्ष भन्दा मुनिका १० हजार २८० नेपालीमा जापानमा बस्छन् । ५ देखि ९ उमेरका ४ हजार ३०८ जना छन् । १० देखि १४ उमेरका ३ हजार ७८६ छन् भने १५ देखि १९ उमेर समूहका ९ हजार ६५१ जना नेपाली जापान बस्छन् ।