काठमाडौं । सूर्यज्योति जीवन बीमा कम्पनीले बिक्री गर्दै आएको धन फिर्ता बीमा योजनामा अनियमितता भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणको निरीक्षण टोलीले गरेको केही बीमा पोलिसीको विश्लेषणबाट धन फिर्ता पोलिसीमा अनियमितता भएको पाइएको हो ।
प्राधिकरणको निरीक्षण टोलीले बीमकलाई सुरुमा नै नोक्सानी हुने गरी बीमा पोलिसीहरु बिक्री वितरण हुने गरेको निष्कर्ष निकालेको छ । कम्पनीले जारी गरेको पोलिसीको विस्तृत छानबिन गर्न प्राधिकरणको निरीक्षण टोलीले सिफारिस गरेको छ ।
निरीक्षण टोलीले बीमकको व्यतित बीमालेख विश्लेषण पनि गरेको थियो । विश्लेषणमा केही बीमा अभिकर्ताहरुको कोडबाट जारी भएको बीमालेखहरु पहिलो किस्ता तिरेपछि व्यत्तित भएको पाइएको छ । सोमध्ये अधिकांश धन फिर्ता बीमालेखहरु छन् । अभिकर्ताको कमिशन तथा ईन्सेन्टिभको लागि मात्र सो बीमा गरेको देखिएको निरीक्षण टोलीले निष्कर्ष निकालेको छ ।
कम्पनीको अभिकर्ता कोड ९१३००३९ बाट सन् २०२१ मा जारी भएका ३४ बीमालेखहरु सबै व्यतित भएको पाइएको छ । यसले बीमा पोलिसी जोखिम सुरक्षणको लागि भन्दा पनि कमिशन र इन्सेन्टिभको लागि मात्रै बिक्री गरेको स्पष्ट हुन्छ ।
त्यस्तै बीमाङ्कको ५ प्रतिशत रकम धन फिर्ताको रुपमा विभिन्न बैंकमा भुक्तानी भएको पाइएको छ । साथै बमिाशुल्क बीमितले नभई अन्य व्यक्ति तथा संस्थाबाट तिरेको तथा अभिकर्ताले पछि पाउने कमिशन, अन्य सुविधाबाट मिलान भएको देखिएको छ । यसले बीमा पोलिसी बिक्री गर्नका लागि डमी बीमित खडा गरिएको स्पष्ट हुन्छ ।
कम्पनीले यस्ता खालका अन्य कारोबार पनि गरेको प्राधिकरणको निरिक्षण टोलीले प्राधिकरणको निरिक्षण समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । बीमा पोलिसी खरिदमा भएको यस्तो कारोबारले बीमकलाई सुरुमा नै नोक्सानी हुने प्रतिवेदनमा उल्लेख छ । त्यसैले यस्ता कारोबारको थप विस्तृत छानबिन हुनुपर्ने समितिलाई सिफारिस गरिएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरुले धन फिर्ता बीमा योजनालाई बढी प्राथमिकता दिएका छन् । बीमा योजना अवधि सकिनु अगावै नै निश्चित समयमा बीमांकको निश्चित प्रतिशत भुक्तानी गर्ने भएकाले यो पोलिसीलाई धन फिर्ता बीमा पोलिसी भनिएको हो । बीमा अवधि सकिएपछि बाँकी रकम र बीमांक रकम पाउने वोनश कम्पनीले एकमुष्ट भुक्तानी गर्छ ।
विभिन्न अवधिमा रकम फिर्ता आउँदा बार्षिक, अर्धबार्षिक वा मासिक रुपमा बुझाईने बीमा प्रिमियम भुक्तानी गर्न सहज हुने अभिकर्ताहरुको तर्क छ । बीमा अवधि सकिनु अगावै रकम फिर्ता पाइने हुँदा सो रकम अन्य व्यवसाय लगानी गर्न सकिने कम्पनीको दाबी छ । यस्तो खालको पोलिसी व्यवसायीहरुको लागि लाभदायी हुने अभिकर्ताहरु बताउँछन् ।
सूर्यज्योतिले सूर्यज्योति सजिलो भुक्तानी जीवन बीमा, सूर्यज्योति धन लाभ जीवन बीमा, सूर्यज्योति थ्रि २० धन बहार जीवन बीमा, सूर्यज्योति धनवृद्धि जीवन बीमा (अग्रिम भुक्तानी) पोलिसी बिक्री गर्दे आएको छ ।
सूर्यज्योतिले बिक्री गर्दै आएको धन लाभ जीवन बीमामा १२ वर्ष बीमा योजनामा पहिलो ४ वर्षमा २५ प्रतिशत रकम भुक्तानी गर्छ । आठौ वर्षमा अर्को २५ प्रतिशत र १२ वर्षमा ५० प्रतिशत रकम फिर्ता दिने छ । त्यसमा थप बोनश पनि दिनेछ ।
१५ वर्षे बीमा योजनामा भने बीमा सुरु भएको पहिलो पाचौं वर्षमा २५ प्रतिशत रकम फिर्ता, १० औ वर्षमा २५ प्रतिशत र १५ औ वर्षमा ५० प्रतिशत सहित वोनश पनि फिर्ता दिन्छ ।
कम्पनीहरुले लाभदायी भनेर बिक्री गरी रहेको धन फिर्ता योजनामा चरम अनियमितता हुने गरेको बीमा कम्पनीकै कर्मचारीहरु बताउँछन् । कम्पनीले पहिलो वा दोस्रो किस्तामा भुक्तानी गरिएको रकम बीमितले सोझै नपाउने गरेको एक कम्पनीका कर्मचारीले बताए । बीमितिले फिर्ता पाउने सो रकमबाट फेरी अर्को पोलिसी खरिद गर्न अभिकर्ताले दबाब दिने गरेको उनले बताए ।
पोलिसी बिक्री गर्दा जे जसरी व्याख्या गरिन्छ । व्यवहारमा त्यो लागू नहुने उनले बताए । बीमितले रकम पाउन झन्झटिलो हुन्छ । यस्तो पोलिसीबाट अभिकर्ताले भने राम्रो कमिशन पाउने उनले बताए ।
सूर्यज्योति बीमा कम्पनीमा भएको यस्तो अनियमितताको बारेमा जानकारी लिन खोज्दा नेपाली बीमा प्राधिकरणका प्रवक्ता सुशिल देव सुवेदीले यस बिषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।