शीर्षकहरू

पुराना गाडी चल्न नपाउने, स्क्र्याप गर्ने मापदण्ड बनाउँदै यातायात विभाग

पुराना गाडी चल्न नपाउने, स्क्र्याप गर्ने मापदण्ड बनाउँदै यातायात विभाग

काठमाडौं । सरकारले पुराना सवारी साधनलाई पत्रु (स्क्र्याप) गर्नका लागि मापदण्ड निर्माणको तयारीमा जुटेको छ । यातायात व्यवस्था विभागले मापदण्ड निर्माणका लागि समिति नै गठन गरेको छ । 

विभागले गत फागुन २० गते समिति गठन गरेको हो । उक्त समितिले हाल अध्ययन गरिरहेको विभागका सूचना अधिकारी गणेशमान सिंह राईले जानकारी दिए । उनका अनुसार उक्त समितिले अध्ययन गर्दछ । अटोमोबाईल क्षेत्रका सरोकारवालसँग छलफल गर्दछ । त्यसपछि मापदण्ड निर्माणको प्रक्रिया अघि बढ्दछ । 

हाल अध्ययनको काम जारी रहेको उनले जानकारी दिए । कति वर्ष पुरानो सवारी स्क्र्याप गर्ने, कसरी गर्ने, कसले गर्ने भनेर अहिले नै भन्न नसकिने उनले जानकारी दिए । उनले भने, 'स्क्र्याप कसरी गर्ने, कसले गर्ने, कति वर्ष पुरानो सवारीको गर्न भन्ने विषय अहिले नै भन्न सकिँदैन । त्यसकै लागि अध्ययन भइरहेको छ ।’

विश्वको विभिन्न देशहरुमा स्क्र्याप गर्ने प्रक्रिया फरक-फरक रहेको छ । भारतको दिल्लीमा पनि १५ वर्ष भन्दा धेरै अवधिको सवारी चलाउन नपाइने प्रावधान लागु भएको छ । आगामी मार्च ३१ तारिखदेखि दिल्लीमा २० वर्ष पुराना सवारी सञ्चालन गर्न पाइँदैन । त्यहाको पेट्रोल पम्पले २० वर्ष पुरानो सवारीलाई पेट्रोल नै नदिने व्यवस्था लागु हुँदैछ । 

भारतको केन्द्र सरकारले पनि सन् २०२० मा स्क्र्याप सम्बन्धी मापदण्ड निर्माण गरेको थियो । जहाँ वर्कशपहरुले पुराना सवारी लिने र सो सवारीको काम लाग्ने पार्ट र नलाग्ने पार्ट छुट्याने र आफैले रिसाईकलको पनि काम गर्न पाउने व्यवस्था गरिएको छ । त्यस प्रकारको वर्कशप सञ्चलनका लागि पनि केही मापदण्ड  पुरा गर्नु पर्दछ । 

स्क्र्याप गर्ने सवालमा सवारीको आयु कति हुन्छ भन्ने कुराले कति वर्ष पुरानो गाडी स्क्र्याप गर्ने भन्ने निचोड निकाल्न सकिने विज्ञहरुको भनाई छ । तर, सवारीको आयु उक्त सवारी सञ्चालन हुने क्षेत्रको सडकमा पनि भर पर्ने जानकारहरु बताउँछन् । 

जापान सरकारले कारको औषत आयु १२ वर्ष तोकेको छ । यसैगरी, ठूला बसको औषत आयु १६ र ट्रकको औषत आयु १६ वर्ष तोकेको छ । यस्ताे आयु देश  अनुसार फरक हुने गर्दछ ।

पुराना सवारीले प्रदुषण र दुर्घटना बढाउँने भएकाले स्क्र्याप गर्नुपर्ने सूचना अधिकारी राईको भनाई छ । 

स्क्र्यापको मापदण्ड बनाउँदा हरेक विषयलाई मसिनो गरि अध्ययन गरेर मात्रै मापदण्ड बनाउने जानकारी  उनले दिए ।