शीर्षकहरू

औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग घट्ने खबरले हर्षित छौं, २४सै घण्टा विद्युत प्राप्त हुने सुनिश्चितता होस्  : सिमेन्ट उत्पादक

औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग घट्ने खबरले हर्षित छौं, २४सै घण्टा विद्युत प्राप्त हुने सुनिश्चितता होस्  :  सिमेन्ट उत्पादक

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने भनी प्रकाशित प्रचारित समाचारले हर्षित भएको बताएको छ । शुक्रबार संघले एक विज्ञप्ति जारी गर्दै नेपालको औद्योगिक क्षेत्रले बिना लोडसेडिङ्ग निरन्तर २४सै घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने सुनिश्चितता प्रदान गर्न समेत माग गरेको छ । 

'नेपाल सरकार र नेपाल विद्युत प्राधिकरण समेतको पहलमा अब भारतबाट रातीको समयमा पनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग पूर्ण रुपमा हटाउने भनी प्रकाशित, प्रचारित समाचार, सूचना, जानकारीबाट नेपाल सिमेन्ट उत्पादक संघ र यस संघसंग आबद्ध उद्योगी व्यवसायीहरु लोडसेडिङ्ग घट्नेछ भन्ने आशाका साथ उक्त विषय प्रति अत्यन्तै सकारात्मकताका साथ हर्षित भएका छौँ।' संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

संघले नेपालको औद्योगिक क्षेत्रले बिना लोडसेडिङ्ग निरन्तर २४सै घण्टा आवश्यकता अनुसारको विद्युत प्राप्त हुने सुनिश्चितता प्रदान गर्न पनि आग्रह गरेको छ । साथै नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको नेतृत्वले उद्योग व्यवसाय प्रबद्र्धनमा आवश्यक सहयोग र समन्वय गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ । थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ्ग कमी गर्ने गराउने र महत्वपूर्ण अभिभावकीय जिम्मेवारी शिघ्र पुरा गर्न सफल होस भन्ने हार्दिक शुभेच्छा समेत व्यक्त गरेको छ । 

नेपालमा औद्योगिक क्षेत्रहरु, खास गरी सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा (१२ घण्टा वा सो भन्दा बढि समय लोडसेडिङ्ग भएका कारण) उत्पादन क्षमता अनुसार सिमेन्ट उत्पादन हुन नसकेको संघको भनाई छ । 

लोडसेडिङ्गका कारण उत्पादन लागत अत्याधिक बृद्धि भएको, मेशिन उपकरणमा क्षति पुग्न गएको कारण ठूलो नोक्सानी र मर्का परि रहेको उनीहरुको भनाई छ । औद्योगिक क्षेत्रहरुमा लोडसेडिङ्ग भएका कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिबृद्धि, निर्यात प्रबद्र्धन समेतमा गम्भीर रुपमा असर परेको पनि संघको भनाई छ ।