शीर्षकहरू

ब्रोकर मर्जर निर्देशिका जारी, सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न गर्नुपर्ने, यस्ता छन् अन्य व्यवस्था

ब्रोकर मर्जर निर्देशिका जारी, सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न गर्नुपर्ने, यस्ता छन् अन्य व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेको छ । धितोपत्र दलाल वा धितोपत्र व्यावसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न उक्त निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ ।

निर्देशिकामा मर्जर तथा एक्विजिसनका लागि सैद्धान्तिक सहमति, सम्पति तथा दायित्व मूल्यांकन, अन्तिम सम्झौता, अन्तिम स्वीकृति प्रदान गर्ने लगायत व्यवस्थाहरु रहेका छन् । साथै, मर्जर तथा एक्विजिसनपछिको एकीकृत कारोबार, कारोबार रोक्का, शाखा सञ्चालनलगायत सम्बन्धी व्यवस्था पनि निर्देशिकामा समेटिएको छ ।

यस्ता छन् व्यवस्थाहरु 

धितोपत्र दलाल वा धितोपत्र व्यापारी एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न बोर्ड समक्ष सैद्धान्तिक सहमतिको लागि निवेदन दिनु पर्नेछ । निवेदन दिँदा धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाले गरेको निर्णय, प्रारम्भिक सम्झौतापत्र, समयबद्ध कार्यतालिका सहितको कार्ययोजना पेश गर्नुपर्नेछ । 

त्यस्तै धितोपत्र व्यवसायीको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सहितको प्रतिवेदन, कर्मचारी व्यवस्थापन सम्वन्धी विवरण,सञ्चालक समितिबाट अख्तियार प्राप्त अधिकारी, मर्जर समिति र सोको कार्य जिम्मेवारी, कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्न सक्ने आधार पेश गर्नुपर्नेछ । 

प्राप्त भएको निवेदन उपर बोर्डले आवश्यक जाँचबुझ गर्नेछ । कागजात उपर जाँचबुझ गर्दा सैद्धान्तिक सहमति प्रदान गर्न उपयुक्त हुने देखेमा बोर्डले १५ कार्यदिनभित्र त्यस्ता धितोपत्र व्यवसायीलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन आवश्यक शर्त तोकी सैद्धान्तिक सहमति दिन सक्नेछ ।

सैद्धान्तिक सहमति प्राप्त गरेको धितोपत्र व्यवसायीले स्वतन्त्र मूल्यांकनकर्ताबाट आफ्नो सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधीको मूल्यांकन (ड्यू डेलिजेन्स अडिट) गराउनु पर्नेछ ।मूल्यांकन प्रतिवेदन समेतको आधारमा धितोपत्र व्यवसायीको अन्तिम शेयर स्वाप अनुपात निर्धारण गर्नु पर्नेछ । त्यस्तो शेयर स्वाप अनुपात सम्बन्धित धितोपत्र व्यवसायीको सञ्चालक समितिबाट अनुमोदन गराएको हुनुपर्नेछ ।

गाभ्न/गाभिन वा प्राप्ति गर्न सैद्धान्तिक सहमति पाएका धितोपत्र व्यवसायीले एक आपसमा अन्तिम सम्झौता गर्नुपर्नेछ । अन्तिम सम्झौता भएपछि साधारण सभाबाट शेयर स्वाप अनुपात सहित गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय भएको मितिले १५ कार्य दिनभित्र धितोपत्र व्यवसायीले अन्तिम स्वीकृतिकोलागि बोर्डमा संयुक्त रुपमा अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गर्न उपयुक्त हुने देखेमा निवेदन प्राप्त भएको १५ कार्यदिनभित्र बोर्डले अन्तिम स्वीकृति प्रदान गर्न सक्नेछ । 

गाभ्ने/गाभिने वा प्राप्ति गर्ने अन्तिम स्वीकृति प्राप्त गरेको धितोपत्र व्यवसायीले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् एकीकृत व्यावसायिक कारोबार गर्ने मिति निर्धारण गरी सोको जानकारी बोर्ड नेप्से तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई दिनु पर्नेछ। 

एकीकृत कारोबार शुरु गर्नुअघि गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको धितोपत्रको पुल एकाउन्टमा रहेका धितोपत्र राफसाफ भइसकेको हुनु पर्नेछ । एकीकृत कारोबार शुरु गर्नुअघि धितोपत्र बजारले गाभ्ने/गाभिने वा प्राप्ति भई कायम भएको धितोपत्र व्यवसायी मार्फत मात्र कारोवार हुने गरी कारोवार व्यवस्थापन प्रणाली (टिएमएस) को व्यवस्था मिलाउनु पर्नेछ । 

धितोपत्र व्यवसायीले एकीकृत कारोबार भएको ३ दिनभित्र धितोपत्र व्यवसायीको अद्यावधिक नाम, ठेगाना र सम्पर्क नम्बर, धितोपत्र व्यवसायीको अद्यावधिक शेयरधनी तथा सञ्चालकको लगत बुझाउनुपर्नेछ ।

त्यस्तै, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधिको विवरण, धितोपत्र व्यवसायीको कार्य विभाजन सहितको जनशक्ति तथा भौतिक पूर्वाधार सम्बन्धी विवरण, धितोपत्र व्यवसायीको कारोबार व्यवस्थापन प्रणाली, राफसाफ तथा फछ्र्यौट र निक्षेप सदस्य कार्य सञ्चालन मिलान सम्बन्धी विवरण,बोर्डले निर्धारण गरेका अन्य विवरण तथा कागजात बुझाउनुपर्नेछ ।  

धितोपत्र व्यवसायीले गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्नेछ । गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि धितोपत्रको कारोबार रोक्का गर्न आवश्यक भएमा सम्बन्धित धितोपत्र व्यवसायीले बोर्डको स्वीकृति लिई रोक्का गर्न सक्नेछ । कारोबार रोक्का राख्ने प्रयोजनकोलागि कम्तीमा तीन कार्यदिन अघि बोर्डमा निवेदन दिनुपर्नेछ ।

गाभिने वा प्राप्ति हुने धितोपत्र व्यवसायीको मुख्य कार्यालयलाई शाखा कार्यालयको रुपमा तथा कायम रहेको शाखा कार्यालय यथावत रुपमा सञ्चालन गर्न बाधा पर्ने छैन । तर काठमाण्डौ उपत्यका भन्दा बाहिर कुनै एक स्थानीय तहमा एक भन्दा बढी शाखा हुने भएमा सो समेत गाभिई एकै शाखा कार्यालय कायम गर्नु पर्नेछ । 

यो निर्देशिका प्रारम्भ हुनुअघि गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रियामा रहेकोधितोपत्र व्यवसायीको बोर्डले यस निर्देशिका बमोजिम गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन बाधा नपर्ने बोर्डले जनाएको छ । यो निर्देशिका कार्यान्वयन गर्न कुनै बाधा अड्काउ पर्न आएमा बोर्डले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ । 
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...