शीर्षकहरू

श्रम मन्त्रीको वैदेशिक भ्रमणमा डीजीको छोरीदेखी उप सचिवकी श्रीमतीसम्म, अख्तियारले देखायो चासो

श्रम मन्त्रीको वैदेशिक भ्रमणमा डीजीको छोरीदेखी उप सचिवकी श्रीमतीसम्म, अख्तियारले देखायो चासो

काठमाडौं ।  धेरै पटक मन्त्री बनेर रेकर्ड राखेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले आफु निकटका कर्मचारी र तीनका श्रीमती, छोरी सहित वैदेशिक भ्रणममा गएर फर्किएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।  

गत कार्तिक अन्तिम साता स्पेनको म्याड्रिडमा टुअवार्ड अ लेवर इन्टरनेशनल सम्मेलनको आयोजना गरिएको थियो । आयोजकको निमन्त्रणमा सम्मेलनमा भाग लिन श्रम मन्त्री भण्डारी मात्रै पुगेनन् उनले आफना विश्वासिला कर्मचारी र उनका श्रीमती, छोरी सहित नै स्पेन पुगे । सम्मलेनमा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र हाल साउदी अरवका श्रम काउन्सेलर रुपमा कार्यरत कविराज उप्रेती, शाखा अधिकृत आयुषी भट्टराई पनि सहभागी थिए । उप्रेती त्यतिबेला श्रम मन्त्रालयमा नै थिए । सम्मेलनमा उनीहरु मात्रै हैनन उनीहरुका श्रीमतीहरु समेत पुगेका थिए । सम्मेलनमा विभागका महानिर्देशक खत्रीकी श्रीमती मिठु थापा, उपसचिव उप्रतीकी श्रीमती शोभा रिजाल पनि पुगेकी थिइन् ।

स्पेन जानका मन्त्रालयले नियम मिचेरै मन्त्रालयसँग असम्बन्धित व्यक्तिलाई समेत भिसा सिफारिस गरेको छ । आर्थिक न्यूजलाई प्राप्त प्रमाणका अनुसार मन्त्रालयको लेडर प्याडमा मन्त्रालयसँग असम्बन्धित निर्जला राउत, मिठु भट्टराई र शोभा रिजालको नाम सिफारिस गरिएको छ । निर्जला राउत श्रम मन्त्री भण्डारीकी पत्नी भनी पत्रका उल्लेख गरिएको छ । त्यस्तै, मिठु थापा सहसचिव खत्रीकी श्रीमती हुन् भने शोभा रिजाल उपसचिव उप्रेतीकी श्रीमती हुन् । भिसा सिफारिस गरिएपछि मन्त्री पत्नी राउत भने स्पेन नगएको स्रोतले बतायो । 

मन्त्रालयको प्रक्रिया अनुसार भिसा सिफारिस प्रशासन शाखाले गर्छ । तर, प्रशासन शाखा प्रमुख मेघनाथ रिमालले भने यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । २०८१ कार्तिक १४ गते कन्सुलर सेवा विभागलाई भिसा सिफारिस लागि लेखिएको सो पत्र शाखा अधिकृत आयुषी भट्टराइले सिफारिस गरेकी छिन् । भिसा सिफारिस गर्ने आयुषी भट्टराई आफै पनि सो सम्मेलनमा भाग लिन स्पेन पुगेकी थिइन् । उनी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कमल प्रसाद भट्टराइकी छोरी हुन् । 

सम्मेलन र मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरु नै सम्मेलनमा भाग लिन पुगेपछि श्रम मन्त्रालयका कर्मचारी बीच हलचल छ । श्रीमकसँग सम्बन्धित कार्यक्रम भएपनि मन्त्री भण्डारीकै नेतृत्वमा असम्बन्धित व्यक्तिहरु सम्मेलनमा भाग लिन स्पेन पुगेका थिए । यसरी असम्बन्धित व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजानु अख्तियारको दुरुपयोग भएको मानिने अख्तियारका कर्मचारीहरु बताउँछन् । ‘यो अख्तियारको दुरुपयोग हो । यो बिषयमा उजुरी परेको खण्डमा मन्त्री, सहसचिवदेखि उपसचिवसम्मलाई अख्तियारको दुरुपयोग गरिएको बिषयमा कारवाही हुनेछ,’ उनले भने । वैदेशिक भ्रमण खर्च नियमावली ०६४ र वैदेशिक भ्रमण निर्देशिका २०७५ विपरित मन्त्रालयले असम्बन्धित व्यक्तिलाई भिसा सिफारिस गरेको अर्थ मन्त्रालयका एक सहसचिवले बताए ।  

मन्त्रालयसँग असम्बन्धित व्यक्तिहरुको वैदेशिक भ्रमणको खर्चको बारेमा हामीले मन्त्रालयसँग बारम्बार सुचना मागेका थियौ । तर, यस बिषयमा जानकारी दिन मन्त्रालय कर्मचारी पन्छिने गरेका छन् । 

पञ्चायतकालदेखि गणतन्त्रसम्मै दल बदल्दै मन्त्री बन्दै आएका शरतसिंह भण्डारीले श्रम सहचारी नियुक्ति गर्दा कार्यविधि नै मिचेको र बोलकबोलका आधारमा श्रम काउन्सलर र सहचारी नियुक्ती गरेको मन्त्रालयका भित्रै कर्मचारीको गुनासो छ । 

श्रम मन्त्रालयमा २८ उपसचिवको दरबन्दी रहेको छ तर त्यहाँ अहिले ३२ उपसचिव कार्यरत छन् । मन्त्रालयमा मात्र १२ जना उपसचिव छन् । कविराज उपसचिवमा बढुवा भएको ४ बर्ष पुगेको छैन । उनीभन्दा पनि बरिष्ठ उपसचिव महेश पराजुली, शोभाकुमारी पोखरेल, शारदा भण्डारी, गुरुदत्त सुवेदी लगायतका आधा दर्जन छन् । तर बरिष्ठलाई पाखा लगाएर मन्त्री भण्डारीले उप्रेतीलाई श्रम काउन्सलर नियुक्त गरि साउदी पठाएका छन् । बोलकबोलको आधारमा कर्मचारीलाई श्रम काउन्सलर र श्रम सहचारी नियुक्त गरेपछि मन्त्रालयका कर्मचारी असन्तुष्ट छन् । 

उसो त श्रम सहचारीको नियुक्तिमा मन्त्री पत्नी निर्जला हावी भएको कर्मचारीहरुबीच चर्चा छ ।

null