शीर्षकहरू

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

टक्सार (भोजपुर) ।भोजपुरमा लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि यसको संरक्षणका लागि अभियान सुरु गरिएको छ। रेडपाण्डा संरक्षणको लागि जिल्लाका पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाका एक-एक वडामा विशेष कार्यक्रम सञ्चालन गरिएको हो।

विश्वभर दुर्लभ मानिएको रेडपाण्डा अहिले भोजपुरमा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा अभियान सुरु गरिएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिनुभयो। रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा यसको संरक्षणका लागि कार्यक्रम थालिएको छ।

टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रहरूमा दुर्लभ रेडपाण्डा भेटिन थालेको छ। गाउँपालिका–१ को सुम्लिखा स्थित धप्पर एकराते सामुदायिक वन क्षेत्रका रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीहरूले रेडपाण्डा देखेर तस्बिर खिचेको जानकारी संस्थाका अध्यक्ष गणेश श्रेष्ठले दिनुभयो।

रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया र छलफल कार्यक्रमहरू सञ्चालन भइरहेको बताउँदै संस्थाका महासचिव गणेश प्रधानले भने। सामुदायिक वनसँग साझेदारीमा रेडपाण्डा संरक्षण कार्यक्रम चलाइरहेको छ, र डिभिजन वन कार्यालय र सामुदायिक वनसँग सहकार्य गरिने छ।