बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो ।
उनीहरुबिच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी रहेका थिए ।
प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैँककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री हलिङसँग साइडलाइट भेटवार्ता भएको हो ।
उनीहरु दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।