शीर्षकहरू

‘गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण छ’

‘गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन ।

आज यहाँ आयोजित नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घको सातौँ वार्षिक साधारणसभामा तथा तेस्रो अधिवेशनमा मन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जना गर्ने र अर्बौं वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालयकोतर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । उनले भने, “नेपाली गलैँचा उद्योगले आर्थिक तथा रोजगारीका क्षेत्रमा पुर्‍याएको योगदानलाई बिर्सन सकिँदैन । उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालय सहयोग गर्न कटिबद्ध छ ।”

मन्त्री भण्डारीले लामो समयदेखि तेस्रो मुलुकमा निकासी सुरुआत गरेको लामो इतिहास भएको गलैँचा उद्योगले सरकारको विभिन्न लक्ष्यमा सहकार्य गर्दै आएको भन्दै खुसी व्यक्त गरे । “उद्योगले वैदेशिक मुद्राआर्जन गरी नेपाली अर्थतन्त्र सवलीकरण, व्यापार सन्तुलन र स्वदेशमा रोजगारी सिर्जना गर्नेलगायत विषयमा योगदान गर्दै सरकारसँग निरन्तर सहकार्य गरिरहेकामा म उद्योगलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु”, उनले भने ।

राष्ट्रले स्वदेशी उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले तर्जुमा गरेको नगद प्रोत्साहन व्यवस्थालाई गलैँचा उद्योगको हकमा सरल र सहज बनाउने कार्यमा मन्त्रालय तत्पर रहेको मन्त्री भण्डारीले जानकारी दिए । गलैँचा उद्योगसँग भएको पटकपटकको छलफलअनुसार निर्यात लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि करका कारणले उद्योगमा पर्न गएको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।  

उनले भने, “लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि (सरकारबाट फिर्ता गर्ने प्रक्रिया झन्झटिलो र ढिला भएका) ले उद्योगलाई केही समस्या भएको बुझेका छौँ । उक्त विषयलाई सम्बन्धित निकायमा उठानगरी हरसम्भव परिणाममुखी बनाउन मन्त्रालय तत्पर छ ।”