काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधी विद्युतको बोनस शेयर सूचीकृत गरिएको हो ।
नागरिक लगानी कोषको ४२ लाख ४० हजार ३७२ कित्ता शेयर सूचीकृत भएको छ । कोषले गत वर्षको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बराबर हुन आउने १८ लाख ८६ हजार ५२६.४६ कित्ता शेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
त्यस्तै, कालिका लघुवित्तको ९.५० प्रतिशत बोनस शेयर बराबर हुन आउने ३ लाख ५३ हजार ७०५.६५ कित्ता सेयर सूचीकरण गरिएको छ । कालिकाले गत वर्षको नाफाबाट शेयरधनीलाई ९.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यसैगरी राधी विद्युतको ८ लाख ३३ हजार ९०४.७० कित्ता शेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।