काठमाडौं । आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौं आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ खेल तालिका
माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा ओमान र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछन् । यस्तै, आगामी वैशाख १ गते ओमान र नेपाल, वैशाख ३ गते अफगानिस्तान र युएई, वैशाख ५ गते हङकङ र ओमान भिड्ने छन् भने वैशाख ६ गते युएई र हङकङ प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चैत ३१ गते हुने पहिलो खेलमा घरेलु टोली नेपाल र युएई भिड्ने छन् । आगामी वैशाख १ गते अफगानिस्तान र हङकङ, वैशाख ३ गते हङकङ र नेपाल, वैशाख ४ गते युएई र ओमान प्रतिस्पर्धा गर्नेछन् भने वैशाख ६ गते नेपाल र अफगानिस्तानबीच भिडन्त हुनेछ ।
विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पनि छनोटमा परेका छन् ।