काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोड डलरले बचतमा रहेको छ । मुलुक बाहिरिने भन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रहेको थियो। यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रहेको थियो।