शीर्षकहरू

मधेश प्रदेशकै एकमात्र पाँचतारे होटल ईच्छाले ३० करोडको आईपीओ जारी गर्ने

मधेश प्रदेशकै एकमात्र पाँचतारे होटल ईच्छाले ३० करोडको आईपीओ जारी गर्ने

काठमाडौं ।  बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।अधिकृत पूँजी २ अर्ब रहेको र जारी पूँजी १ अर्ब ५० करोड रहेको उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात  ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । 

नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष ईच्छा बहादुर वाग्लेले २०७४ सालमा होटल सञ्चालनमा ल्याएका थिए । २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गरेको थियो । चालु आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको छ । होटलमा संस्थापक समूहको चुक्ता पूँजी १ अर्ब २० करोड पुगेको छ । ३० करोडको आईपीओ जारी गरेपछि १ अर्ब ५० करोड पुग्नेछ । 

पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित उक्त होटलमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन । साथै स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरु रहेका छन् । चालु आर्थिक वर्षमा नै साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको स्वीकृतिका लागि आवेदन दिने र आगामी आर्थिक वर्ष भित्रमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवद्र्धक ईच्छा बहादुर वाग्लेले जानकारी दिए । 

हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटल स्तरको क्यासिनो सञ्चालन गर्नकालागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भईरहेको होटलले जनाएको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको र केही दिनमा नै सम्झौता भईसक्ने पनि जानकारी दिए । त्यसैकालागि हाल होटलको रिनोभेसन तथा कोठाहरुको स्तरीकरण गर्ने कार्य शुरु गरिएको र छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न होटलमा परिणत हुने जानकारी दिए ।

भारतको मुख्य गरी विहार प्रदेशका नागरिककालागि डेस्टिनेशन म्यारिज हवको रुपमा परिचित यस होटलले वर्षेनी ३० देखि ४० वटा वैवाहिक कार्यक्रम होटलमा गर्ने गरेको छ । भारतको सीमानाबाट करिब १९ कि. मि. टाढा रहेको यस होटल भारतिय नागरिकहरुकालागि क्यासिनो खेल्नकालागि हव नै बनेको छ । 

काठमाण्डौं–निजगढ फास्ट ट्रयाक सम्पन्न भएपछि सडक मार्गबाट नेपाल आउने भारतीय नागरिकहरुको संख्या बढ्ने, हवाईमार्गबाट आउने यात्रुहरुलाई पनि १ कि. मि. को दुरीमा रहेको सिमरा एअरपोर्टबाट सहज हुने र भारतको रक्सोलमा समेत एअरपोर्ट निर्माणको तयारी भईरहेकोले भारतिय नागरिकहरुलाई हवाई यातायातबाट नेपाल आउँदा जाँदा ट्रान्जिटको रुपमा बस्नकालागि यो होटल केन्द्रबिन्दु बन्ने भएकालेपनि होटलको स्तरोन्नती गरी पाँचतारे होटलमा परिणत गरिएको वाग्लेले बताए ।