काठमाडौं । यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १० अंक बढेर बन्द भएको नेप्से बिहीबार ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ । नेप्से सूचीकृत भएका नयाँ कम्पनीहरुको माग उच्च रहेको छ ।
यसदिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएकोमा बिहीबारको बजारमा भने ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आजको बजामरा १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन अन्य उपसमूहको परिसूचक ०.९० प्रतिशत घटेको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल माइक्रो इन्स्योरेन्स गत मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो भने क्रेष्ट माइक्रो लाइफ आजदेखि कारोबारमा आएको कम्पनी हो।
त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य यस दिन सर्वाधिक ४.३७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।