शीर्षकहरू

गणतन्त्रभित्र देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ : नेता बानियाँ

गणतन्त्रभित्र देखिएका कमजोरीलाई सुधार गर्न सकिन्छ : नेता बानियाँ

काठमाडौं ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले गणतन्त्रभित्र देखिएको कमजोरीहरूलाई सुधार गर्न सकिने बताएका छन्।

कांग्रेस कांठमाडौं क्षेत्र नं ४ (ख) को बिहीबार दोस्रो प्रदेश सम्मेलन तथा नयाँवर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै नेता बानियाँले जनताले नेताहरूलाई आवश्यक दण्ड दिन सकिने सुन्दर व्यवस्था लोकतन्त्रमा रहेको बताए । ‘गणतन्त्रमा जनतासँग दण्ड दिने अधिकार छ, तर राजतन्त्रमा यस्तो उत्तरदायित्व हुँदैन, त्यसैले गणतन्त्र जनमुखी छ’, उनले भने ।

साथै उनले सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने बताएका छन् । प्रजातान्त्रिक राजा बनाउँछु भन्दै अहिले राप्रपाले राजा बोकेर हिडेको भएपनि नेपाली जनताले नपत्याउने जिकीर गरे । गणतन्त्रमा नागरिक भैसकेको राजा अब मालिक हुनका लागि केही थान उछृङ्खल तत्व बोकेर सडक आन्दोलन गर्न लगाइएको उनको भनाई थियो । 

हिजो राजाका नाममा ठगी खाने हलि गोठालाहरुले ब्यक्तिको नाममा राजनीति गर्न खोजेको भन्दै सिद्धान्त, दर्शन र बिचारको नाममा राजनीति गर्न अहिलेको संविधानले कसैलाई पनि नरोकेको उनले बताए । साथै, राजतन्त्रका नाममा देशमा खुलेआम लुटतन्त्र मच्चाईएको बानियाले सम्झाएका छन् । ‘लोकतन्त्रको व्यवस्थापनमा वार्षिक ११ करोड मात्र खर्च भइरहेको तर, सक्रिय राजतन्त्रमा ७५ करोड खर्च हुने गरेको बताए। अझै त्यो खर्चको पारदर्शिता समेत थिएन, त्यसको जवाफ कसले दिने ?’ उनले प्रश्न गरे । 

सभापति बानियाँले गणतन्त्रको उपलब्धिका रूपमा समावेशितालाई उदाहरण दिँदै भने, ‘आज हरेक वडामा सबै जातजातीका कर्मचारीहरू छन् । समावेशीता व्यवहारमै देखिएको छ । यो नै लोकतन्त्रको विशेषता हो।’

नेपाली कांग्रेसको भावी योजनाबारे पनि स्पष्ट पार्दै सभापति बानियाँले भने, ‘अबको एजेन्डा मुलुकमा सुशासन स्थापना गर्नु, भ्रष्टाचार अन्त्य गर्नु र जनताप्रति पारदर्शी तथा जवाफदेही नेतृत्व दिनु हो । जनतालाई नै सार्वभौम बनाउँदै लोकतान्त्रिक गणतन्त्रबाटै देश र जनताको समृद्धि प्राप्ति गर्न सकिने उनले बताए । बानियाँले धर्मको नाममा विभिन्न बखेडा खडा गर्नेको माग सम्बोधनका लागि संविधानमा धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता लेख्दा कुनै फरक नपर्ने बताउँदै कसैले पनि धर्म र जातको नाममा राजनीति गर्न नहुने बताए ।