शीर्षकहरू

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घट्यो, विद्युत दुर्घटनाका पीडितलाई १० लाख राहत

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घट्यो, विद्युत दुर्घटनाका पीडितलाई १० लाख राहत

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ।ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरणको ९ सय ९५औं बैठकले सो निर्णय गरेको हो ।

हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी राखे पुग्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाखसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।हालको व्यवस्था अनुसार विद्युतीय दुर्घटनामा परी मृत्यु भएमा कर्मचारीको हकमा बढीमा ५ लाख राहत र परिवारलाई तीन तहसम्मको रोजगारी दिने व्यवस्था रहेको थियो ।

त्यस्तै सर्वसाधारणको हकमा बढीमा ५ लाखसम्म राहत दिने व्यवस्था भएपनि शुक्रवार मन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकले १० लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले विद्युतीय दुर्घटनामा परेकाहरुलाई दिनुपर्ने राहत कुनै पनि बहानामा नरोक्न र तत्काल उपलब्ध गराउन समेत मन्त्री खड्काले निर्देशन दिए ।

त्यस्तै प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत खपत गर्ने १० ग्राहकलाई ुसर्वाधिक महत्त्वपूर्ण ग्राहक, प्रदेशस्तरमा बढी खपत गर्ने १० लाई अत्यन्त महत्त्वपूर्ण ग्राहक तथा वितरण केन्द्र अनुसार बढी खपत गर्ने १० ग्राहकलाई महत्त्वपूर्ण ग्राहकको सूचीमा राखेर विशेष प्राथमिकता दिने उल्लेख गरेको छ । यद्यपि यस्तो सूचीमा पर्न भने दुई महिनाभन्दा बढी बक्यौता नहुने शर्त तोकिएको छ।