काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८.४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो । कम्पनीले सन् २०२४ मा ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ।
अघिल्लो वर्ष अर्थात सन २०२३ मा यशोदा फुड्सको व्यापार ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ थियो । त्यस्तै सन् २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ लिमिटेडले जनाएको छ । यशोदा फुड्सले उत्पादन गर्ने करेन्ट चाउचाउको बजारमा उच्च माग रहेको छ । मसालेदार चाउचाउको माग बढेसँगै यसको व्यापार बढेको कम्पनीले जनाएको छ।
यशोदा फुड्स एक निजी कम्पनी हो । कम्पनीको तिलोत्तमा-१५, रुपन्देही, नेपालको उत्पादन केन्द्र रहेको छ । यसले विभिन्न प्रकारका चाउचाउ, चिजबल लगायतका वस्तु उत्पादन गर्छ । यशोदा फुड्ससँग चाउचाउ उत्पादन गर्न सक्ने क्षमता वार्षिक ४२ हजार टन छ । स्न्याक्स् सेग्मेन्टअन्तर्गत कम्पनीको क्षमता वार्षिक ४ हजार ५०० टन पुयाइएको छ ।
यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्द्रुक, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी करेन्ट चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ ।
यशोदा फुड्ले करेन्ट ब्रान्डमा चाउचाउ, चिजबल, स्टिक्स, पोट्याटो क्र्याकर, अनियन रिङ्स, कोदो (रागी), रोस्टेड मखना, चिप्स, नमकिन लगायत उत्पादन गर्दै आएको छ । नेपाली बजारमा यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले झनै लोकिप्रिय बन्दै गएको छ । स्वदेशमै उत्पादित साम्रगी र खाद्यान्न प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउ पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग आउन थालेको यसोदा फुड्सको दाबी छ ।
९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोगगरी अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको कम्पनीले स्वदेशका साथै अन्तराष्ट्रिय बजारमा समेत व्यापार विस्तार गर्दै लगेको छ । नेपाली उपभोक्ताको पहिलो रोजाईंमा परेको कम्पनीको ‘करेन्ट चाउचाउ’ अहिले विभिन्न २२ मुलुकमा निर्यात हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा कम्पनीको वार्षिक टर्नओभर एक सय करोड रुपैयाँभन्दा माथि रहेको पनि कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार करेन्ट चाउचाउ भारत, अस्ट्रेलिया र अमेरिका लगायत झण्डै २ दर्जन मुलुकमा पनि निर्यात हुन थालेको छ । अहिले भारत, क्यानडा, सिंगापुर, बहराइन, अष्ट्रेलिया, कुवेत, दुबई/युएई, जापान, संयुक्त अधिराज्य, इटाली, मलेसिया, कोरिया, भुटान, हङकङ, कतार, न्यूजील्याण्ड, केम्यान टापुहरू तथा पपुवा न्यू गिनीमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।
कम्पनी गत वर्ष आफ्नै स्वामित्वको यशोदा नुडल्स् एण्ड स्न्याक्स प्रालिलाई यशोदा फुड्समा गाभेको थियो । रेटिङ एजेन्सी केयर रेटिङ्सकाअनुसार कम्पनीले २ अर्ब रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ ।
सन २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि कम्पनीले थप कारखाना विस्तार गरेको छ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना संचालनमा ल्याएको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।