काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले बढेर २६८९.२२ को बिन्दुमा उक्लिएको छ । यसदिन नेप्स्े सूचकसँगै कारोबार रकममा समेत उच्च बढोत्तरी आएको छ ।
मंगलबार विभिन्न ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार ३ सय ६४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको दुई अर्ब एक करोड २९ लाख ९३ हजार एक सय ४२ बराबरको ८६ लाख ७८ हजार दुई सय २५ कित्ता शेयर किनबेच भएको छ ।