काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १९ गुणा धेरै आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन आज वैशाख २ गते साँझ ५ बजेसम्म माग भन्दा १९ गुणा बढीले आवेदन दिएका हुन् ।
कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएकोमा १९ लाख ३६ हजार जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिसकेको छ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।