वीरगन्ज । वीरगन्जको छपकैयामा उच्छृंखल गतिविधि गर्ने ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । धार्मिक सदभाव बिथोलेको आरोपामा हिन्दु तर्फबाट दुइ र मुस्लीम समुदायका दुइ युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । वीरगन्ज महानगरपालिका वार्ड नम्बर २ छपकैयाका शेख खुर्शेद , जमुदिन ठकुराइर्, बलजित सिंह कुशवाहा र वार्ड नम्बर १५ नगवा बस्ने रबि सर्राफलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जनाइएको छ ।
चार दिन अगाडि हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रमा उच्छृङखल गतिविधि गर्दै धार्मिक सदभाव बिथोल्ने अरोपमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा चारैजनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीबाट खटिएको विशेष टोलीले विभिन्न ठाउँबाट चारैजनालाई पक्राउ गरेको हो ।
हिन्दुवादी तर्फबाट दुर्इ युवकलाई पक्राउ गरिएको बिरोधमा मंगलबार राती जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पुगेका हिन्दुवादी नेताहरु बिरोध जनाएका छन । सर्राफ र कुशवाहाको रिहाईको मांग गर्दै आफुपहरु जिल्ला प्रहरी कार्यालय अगाडि बिरोध गरेको हिन्दुवादीले बताए ।
हिन्दु समुदायले गरेको शोभायात्रामा उच्छृङखल गतिविधि गरेको अरोपमा हिन्दुलाई नै पक्राउ गर्नु प्रहरीको गलत निर्णय रहेको उनीहरुको अरोप छ ।
दुर्इ दिन अगाडि भएको पाँच बुँदे सर्वपक्षीय निर्णय अनुसार शोभायात्रामा उच्छृङखल गतिविधि गरेका व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न विशेष टोली खटाइएको थियो ।
यता जिल्ला प्रशासन कार्यालय पर्साले सुचना जारी गरी विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरूमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुने गरी सार्वजनिक भएका भ्रामक सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मंगलबार एक विज्ञप्ति जारी गर्दै वीरगञ्जमा भएका र नभएका पुराना घटनाको तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा राखिएका सामाग्रीहरुले पछिल्लो समयमा वीरगंजको परिवेशलाई प्रतिकूल असर गर्ने र वीरगंजसँग असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएमा कानून बमोजिम कार्वाही हुने उल्लेख गरेको छ ।
स्थानीय प्रशासनले धार्मिक र सामाजिक सद्दभाव भड्काउने खालका कार्य प्रचलित कानून बमोजिम दण्डनीय हुने चेतावनी दिएको छ । सूचनामा भ्रामक सामग्री पोस्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने र गराउने माथि कानून बमोजिम कारवाही गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ।