शीर्षकहरू

गार्डियन माइक्रोको एसजीएम स्थगित, हकप्रदमा चलखेलको आशंका

गार्डियन माइक्रोको एसजीएम स्थगित, हकप्रदमा चलखेलको आशंका

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा स्थगित भएको छ । नेपाल बीमा प्राधिकरणले स्थगन गर्न निर्देशन दिएपछि कम्पनीले सभा स्थगित गरेको हो । 

कम्पनीले सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नका लागि वैशाख ५ गते विशेष साधारणसभा आह्वान गरेको थियो । गत चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिले हकप्रद पारित गर्न सभा आह्वान गरेको थियो । 

तर, कम्पनीले प्राधिकरणसँग पूर्व स्वीकृती नलिई हकप्रद जारी गर्न लागेपछि प्राधिकरणले नियमकीय हस्तक्षेप गरेको हो । हकप्रदका शेयर जारी गर्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाइएको उक्त सभा स्थगन गर्नु भन्दै प्राधिकरणले कम्पनीलाई हिजो मंगलबार पत्र पठाएको थियो । 

त्यसभन्दा पहिला प्राधिकरणले कम्पनीसँग स्पष्टीकरण माग गरेको थियो । कम्पनीले दिएको स्पष्टीकरण चित्त नबुझेपछि सभा नै स्थागित गर्न निर्देशन दिएको हो । विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते बुक क्लोज गरिसकेको छ । 
कम्पनीको हाल ७५ करोड चुक्ता पुँजी रहेको छ । सतप्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी १ अर्ब ५० करोड बनाउने योजना कम्पनीको थियो । 

कम्पनीले गत पौषमा आईपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओ पश्चात् कम्पनीको पुँजी ७५ करोड पुगेको थियो । 

माघ २७ गतेदेखि कम्पनीको शेयर कारोबार भएको थियो । वैशाख २ गतेसम्म कम्पनीको ४२ दिन शेयर कारोबार भएको थियो । यो अवधिमा कम्पनीको शेयर मूल्य २ हजार ७ सय ७८ रूपैयाँसम्म पुगेको थियो । यसैबिच हकप्रदलाई देखाएर लगानीकर्ताले चलखेल गरेको भन्ने पनि आरोप लाग्दै आएको थियो ।