पोखरा। प्रभु बैंक लिमिटेड र पोखरा महानगर ९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।
कास्की जिल्लालगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यका साथ सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरे। कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन्। उक्त सम्झौताले पोखरा महानगर ९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायीलाई दैनिक कारोवार नगदरहित बनाउने उद्देश्यका साथ क्यू।आर। कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउने छ।
यसका साथै व्यवसाय विस्तारका लागि प्रभु बैंकले व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउने छ।