शीर्षकहरू

नयाँ वर्ष लागेयता सुधारतर्फको लयमा शेयर बजार, बजारमैत्री गभर्नरको पर्खाइमा लगानीकर्ता

नयाँ वर्ष लागेयता सुधारतर्फको लयमा शेयर बजार, बजारमैत्री गभर्नरको पर्खाइमा लगानीकर्ता


काठमाडौं । नयाँ वर्ष २०८२ लागेपछि शेयर बजारले सुधारतर्फको लय देखाएको छ । लामो समयदेखि उतारचढावमा रहँदै आएको शेयर बजार पछिल्लो तीन दिनको कारोबारमा लगातार बढेको छ । पछिल्लो समयमा शेयर लगानीकर्ताको ध्यान राष्ट्र बैंकको गभर्नर को बन्ला भन्नेतर्फ रहेको छ । गभर्नर नियुक्ति सम्बन्धीका खबरहरुले केहि सातायतादेखि शेयर बजारमा प्रभाव समेत देखिँदै आएको छ । 

गभर्नर नियुक्त गर्ने विषयमा सत्तारुढ दलबीच सहमतिको प्रयास भइरहँदा मध्यमार्गीरुपमा डा. गुणाकर भट्टलाई अगाडि सार्ने विकल्पमा अघि सारिएपछि शेयर बजारका लगानीकर्ताहरु थप सकात्मक भएको देखिन्छ । गभर्नरमा भट्टको सम्भावना बढ्दै गएको खबर बाहिरीएसँगै शेयर कारोबारसँगै नेप्से सूचक समेत उच्च अंकले बढेको छ । नीतिगत स्थायित्वसँगै बैंकिङ प्रणालीलाई चुस्त, दुरुस्त र सबल बनाउन काम गर्न सक्ने क्षमता भट्टमा रहेको विश्लेषण भइरहदा शेयर लगानीकर्ताहरु थप आशावादी बनेको देखिन्छ । 

नयाँ वर्ष सुरु भए यताका ३ कारोबार दिनमा नेप्से सूचक ६० अंक बढीले उकालो लागेको छ । वैशाख २ गते मंगलबार २७ अंकले बढेको बजार बुधबार ७ अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबारको नेप्से साढे २६ अंकले बढेको छ । साथै आजको कारोबारमा कारोबार रकम समेत पौने ११ अर्ब पुगेको छ । सूचकसँगै कारोबारमा आएको सुधारले लगानीकर्ता आगामी दिनमा बजार अझै बढ्नेमा आशावादी देखिएका छन् । 

बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको हो।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक ४.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ । जसको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

null