काठमाडौं । वित्तीय प्रणालीको निक्षेप साढे ६८ खर्ब माथि पुगेको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा आएको उच्च सुधारले बैंकहरुमा निक्षेप थपिने क्रम बढेकाले बैंकिङ प्रणालीको निक्षेप हालसम्मकै उच्च भएको हो । गत चैत ३१ गते आइतबारसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप (डिपोजिट) ६८ खर्ब ५७ अर्ब पुगेकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तको १ दिनमा मात्रै बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६१ खर्ब २० अर्ब पुगेको छ। अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ३७ अर्ब रहेको छ । तर, वित्तीय प्रणालीमा निक्षेपको तुलनामा कर्जा भने विस्तार हुन सकेको छैन। गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको कर्जा ४९ खर्ब १४ अर्ब पुगेको छ । अन्य संस्थाहरुले ६ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन्।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.४५ प्रतिशत कायम भएको देखाएको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ३७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा आएको उच्च सुधारले बैंकहरुमा निक्षेप थपिने क्रम बढेपछि बैंकिङ प्रणालीको निक्षेप हालसम्मकै उच्च भएको हो । चालु आर्थिक वर्षको ८ महिना अर्थात साउनदेखि फागुन महिनासम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब १९ करोड रेमिट्यान्स आएको थियो । फागुन महिनामा भित्रिएको रेमिट्यान्स हालसम्मकै उच्च हो ।
नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरुसँग झण्डै साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थुप्रदै जाने तर कर्जा विस्तार नहुँदा यसले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत प्रभावित हुने अर्थविद्हरुले औँल्याएका छन् ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न नसकेको उनीहरुको भनाई छ । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.५ प्रतिशतले कर्जा बढाउने भने पनि गत फागुनमसान्तसम्म ६ प्रतिशतले मात्रै कर्जा बढेको छ । आर्थिक शिथिलता चिर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भए पनि आयात र शेयरमा मात्र कर्जा बढेको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ कर्जा गएको छ । जबकि अहिले पनि बैंकहरुमा करिब साढे ६ खर्ब लगानीयोग्य रकम छ । तर, अहिलेसम्म लक्ष्यअनुसार कर्जा बढेको छैन । गतवर्षको तुलनामा ६ प्रतिशत मात्रै कर्जा बढेको देखिए पनि यो कर्जा उत्पादन र रोजगारी सिर्जना गर्ने ठाउँमा गएको छैन । आयात कर्जा ५८.१ प्रतिशत र शेयर कर्जा ३१.५ प्रतिशतले बढेको छ । यस्तो कर्जाले उत्पादन र रोजगारी बढाउन नसक्ने अर्थविदहरु बताउँछन् ।
आयातमा गएको कर्जा पनि औद्योगिक कच्चा पदार्थ र विकास निर्माणका सामग्रीमा भन्दा उपभोग्य सामान खरिदमा गएको उनीहरुको तर्क छ । औद्योगिक उत्पादनतर्फको कर्जा ९.३ प्रतिशत र निर्माणतर्फको कर्जा ९.५५ प्रतिशतले मात्रै बढेको छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले मात्रै बढेको छ ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.३ प्रतिशत, विकास बैंकहरुको ३.१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.७ प्रतिशतले बढेको छ । २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.५ प्रतिशतले बढेको छ । २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३५.३ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको थियो ।