काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब ६२ करोड रुपैयाँ बढीको विद्युतीय सवारी ( कार, जीप र भ्यान ) भित्रिएको छ । चालु आवको चैत मसान्तसम्म ७ हजार ९ सय ६७ वटा ईभी भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै ८ सय ७८ वटा ईभी भिएको हो ।
विभागका अनुसार ईभी आयातबाट चैत मसान्तसम्म ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कति क्षमताका गाडी कति भित्रिए ?
५१ किलोवाट देखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै भित्रिएका छन् । यो क्षमता भएका १० अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको ४ हजार ४१४ वटा ईभी भित्रिएका छन् । जुन कुल आयात भएको ईभीको ५५.४० प्रतिशत हो ।
यसैगरी, ५० किलोवाटसम्म क्षमता भएका २ हजार ७९२ वटा सवारी आयात हुँदा १०१ देखि २०० किलोवाटका ७४२ वटा, २०१ देखि ३०० किलोवाटका १७ र ३०० किलोवाट भन्दा माथिका २ वटा सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कुन देशबाट कति आयात ?
विभागका अनुसार अधिकांश ईभी चाइनाबाट आयात भएको छ । यो अवधिमा कुल आयातको ७४ प्रतिशत ईभी चाइनाबाट आयात भएको हो । चाइनाबाट १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ बढीको ५ हजार ९०२ वटा ईभी आयात भएको छ ।
त्यसैगरी, भारतबाट ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ बढीको २ हजार २३ वटा ईभी आयात हुँदा जर्मनीबाट ३१ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरिया र इन्डोनेसियाबाट ३/३ वटा ईभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।