काठमाडौं । वैशाख लागेपछि ३ कारोबार लगातार बढेको शेयर बजारले लगानीकर्तामा आशाको सञ्चार जगाएको भएपनि पछिल्लो दुई दिन घट्दा भने निराशा छाएको छ । गभर्नर नियुक्तिको प्रक्रिया गिजोलिँदै जादा शेयर लगानीकर्ताहरु समेत 'पर्ख र हेर' को अवस्थामा पुगेका छन् । जसले गर्दा शेयर कारोबारमा सामान्य उतारचढाब देखिएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । आजको कारोबारमा ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि ९.८८ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९.८० प्रतिशत बढेको छ । कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ५३ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५२ करोडको शेयर खरिदबिक्री भएको छ ।